काठमाडौं । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२, द्वाल्खा निवासी संस्कृतिप्रेमी तथा जेष्ठ नागरिक यज्ञकुमार प्रधानद्वारा लिखित ‘द्वाल्खा खँकुठी’ (दोलखा नेवार भाषा शब्दकोष) पुस्तकको सार्वजनिकरण गरिएको छ। नेपाल भाषा एकेडेमीको आयोजनामा सम्पन्न एक समारोहमा यस शब्दकोशको लोकार्पण गरिएको हो।

समारोहको अध्यक्षता नेपाल भाषा एकेडेमीका चान्सलर एवम् नेवाः देय् दबूका संरक्षक मल्ल के. सुन्दरले गर्नुभएकाे थियाे भने प्रमुख अतिथि अमेरिकाको क्यालिफोर्नियामा जन्मेर हाल अबुधाबीस्थित विश्वविद्यालयमा भाषाशास्त्र अध्यापन गरिरहनुभएकाे भाषाविद् डा. क्यारोल जिन्नेट रहनुभएकाे थियाे । कार्यक्रममा नेपाल भाषा एकेडेमीका नरेन्द्रकुमार प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

एक सय ९६ पृष्ठ लामो यस शब्दकोशमा द्वाल्खाली नेवार भाषाका शब्दहरूको अर्थ नेपाल भाषा, नेपाली भाषा र अङ्ग्रेजी भाषामा समावेश गरिएको छ। यसले दोलखाको भाषा, संस्कृति र सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। नेपाल भाषा एकेडेमीले यस पुस्तकको प्रकाशन गरेको हो ।

कार्यक्रममा डा. क्यारोल जिन्नेट, चान्सलर मल्ल के. सुन्दर, अमरकुमार प्रधान र पुस्तक लेखक यज्ञकुमार प्रधानले आ–आफ्नो विचार व्यक्त गर्दै यस शब्दकोशको महत्त्वमा प्रकाश पार्नुभएकाे थियाे । कार्यक्रममा अमेरिकी निवासी पावल (डा. जिन्नेटका पति), अबुधावीस्थित विश्वविद्यालयमा अध्ययनरत विभिन्न देशका विद्यार्थीहरू तथा दोलखाली विशिष्ट व्यक्तित्व एवम् दोलखाली संघसंस्थाका अध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। दोलखाली युवा उज्ज्वल प्रधानले कार्यक्रमको सञ्चालन गर्नुभएकाे थियाे ।