काठमाडौँ । नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीले २०८० सालका पुरस्कार तथा सम्मान समर्पण गरेको छ ।
काठमाडौँमा आयोजित एक समारोहमा बालसाहित्य र लोकगायन क्षेत्रका विभिन्न प्रतिभालाई पुरस्कृत तथा सम्मानित गरिएकाे छ ।
समारोहका प्रमुख अतिथि प्रा. डा. चूडामणि बन्धुले नेपाली बालसाहित्यमा उल्लेखनीय योगदान पुर्याएका रामकुमार पाँडे (काठमाडौँ) र रामबाबु सुवेदी (कास्की) लाई जनही ५० हजार रुपैयाँसहित पुरस्कृत गर्नुभएकाे हाे । यसैगरी, ‘नूर-गङ्गा क्षेत्रीय स्थापित लोकगायन पुरस्कार’ डिल्लीनारायण पाण्डे (रूपन्देही) लाई ३० हजार रुपैयाँसहित, ‘नूर-गङ्गा राष्ट्रिय नवप्रतिभा लोकगायन पुरस्कार’ प्रकाश दुतराज (म्याग्दी) लाई २५ हजार रुपैयाँसहित र ‘नूर-गङ्गा क्षेत्रीय नवप्रतिभा साहित्य पुरस्कार’ सागर पौडेल (रूपन्देही) लाई २० हजार रुपैयाँसहित प्रदान गरियो ।
गुठीलाई लामो समयदेखि योगदान गर्नुभएका भागीरथी श्रेष्ठ र प्रा. डा. गोविन्द नेपाललाई प्रमुख अतिथिले दोसल्ला ओढाएर सम्मान गर्नुभएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथि डा. बन्धुले बालबालिकाका लागि थप साहित्य सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
पुरस्कृत तथा सम्मानित व्यक्तिहरूले आफ्नो खुसी व्यक्त गर्दै बालसाहित्यको महत्त्वलाई उजागर गर्नुभयाे । पुरस्कृत प्रकाश दुतराजले कार्यक्रममा लोकगीत प्रस्तुत गर्नुभयाे । कार्यक्रममा प्रा. डा. भवेश्वर पंगेनी, प्रा. डा. ध्रुवकुमार घिमिरे, नारायण रायमाझी, सन्ध्या पहाडी, यादव भट्टराई लगायतले गुठीका संस्थापकद्वय नूरप्रताप जबरा र गङ्गादेवी राणा, पुरस्कृत प्रतिभा तथा गुठीका ३४ वर्षे यात्राको चर्चा गर्नुभयो ।
कार्यक्रमका सभाध्यक्ष प्रा. डा. गोविन्द नेपालले आगामी वर्षदेखि गुठीले बालसाहित्य र लोकगायनका पुरस्कारहरू प्रत्येक वर्ष प्रदान गर्ने घोषणा गर्नुभयो । कार्यक्रममा नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीका संरक्षक अमिरप्रताप जबरा, सल्लाहकार जानुकादेवी राणा, विदुषी राणा लगायत स्रष्टाहरूको उपस्थिति रहेको थियो ।
२०४९ सालमा महामना नूरप्रताप जबरा र उहाँकी धर्मपत्नी लोकगीतगायिका गङ्गा राणाको सदिच्छा अनुसार नेपाली लोकसङ्गीत एवम् वाङ्मयको समुन्नयनको उद्देश्यले नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीको स्थापना भएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
रमा कृष्ण सृजना प्रतिष्ठानद्वारा साहित्य, संगीत र विज्ञानका प्रतिभालाई सम्मान
२४ कार्तिक २०८२, सोमबार 






