ज्ञवाली सूक्तिसङ्ग्रह – डा.रामप्रसाद ज्ञवाली

लेखक डा. रामप्रसाद ज्ञवालीको सूक्तिसङ्ग्रह हो ‘ज्ञवाली सूक्तिसङ्ग्रह’ । ज्ञवालीले सूक्तिहरूमा वैचारिक सशक्तता र युगीन महत्त्वलाई प्राथमिकतामा राख्नुभएको छ ।

”कवि ज्ञवालीको एउटा पनि कविता सूक्तिविहीन हुँदैन।” पुस्तकमा डा. देवी नेपाल लेख्नुहुन्छ, ”फुटकर कविताको कुनै पद्यमा वा काव्यांशमा सूक्ति आउनु सामान्य कुरा हो तर एउटा दुईहरफे वा चारहरफे सिर्जनामा सि‌ङ्गो महाकाव्यसरहको शक्तिशाली भाव अटाउन सक्नु चानचुने कुरा होइन । त्यही अनुपम क्षमता कवि ज्ञवालीको कवित्वमा पाइन्छ । ५० को दशकमा शुरु त्योभन्दा महत्त्वपूर्ण सूक्तिपूर्ण कवित्वको पनि पुनर्जागरण भएको छ । वर्तमानका कवि र कविताहरूको शक्ति नै सूक्तिपूर्ण काव्यिक अभिव्यञ्जना बन्ने गरेको छ। नेपाली छन्दकवितामा यस परिवेशको निर्माणमा कवि ज्ञवालीको विशिष्ट योगदान रहेको देखिन्छ ।”

त्यसैगरी, पुस्तकमा विनयकुमार शर्मा लेख्नुहुन्छ, ”डा. रामप्रसाद ज्ञवाली नेपाली साहित्यका अत्यन्त ऊर्जावान् कवि तथा समालोचक हुन् । खरो तर स्पष्टवक्ता स्वभावका कारण उनका विचार, जीवनदर्शन र लेखाइ पनि त्यस्तै हुनु स्वाभाविक लाग्छन् मलाई । साहित्यसेवामा मान्छे भावुक र दयावान् नरही निरन्तर लाग्नै सक्दैन । समाजसेवा र मानवहित नै कविहरूको वास्तविक सपना पनि हो । आफ्नो सपना पूरा गर्न नै साहित्यसिर्जना गर्दछन् र गरिरहेका हुन्छन् । यसै क्रममा कवि ज्ञवालीबाट सूक्तिहरूको सङ्ग्रह प्रकाशन गर्ने चाहानाको विकास हुनु पनि स्वाभाविक नै लाग्छ मलाई ।”

त्यसैगरी, पुस्तकमा लेखक ज्ञवाली लेख्नुहुन्छ, ”यो कृति आकारमा सानै भए पनि मलाई उत्साहित बनाउन र आफूलाई आनन्दित पार्न चाहने पाठकहरूका लागि यसमा अनेक कुरा छन् नै साथमा मेरो आलोचना गर्न चाहने पाठकका लागि पनि यहाँ अनेक कुरा छँदै छन् । खास गरी पुनरावृत्ति आलोचनाको मुख्य विषय हुन सक्छ । यो कुरा थाहा भएर पनि प्रत्येक पुनरावृत्तिमा बेग्लै सौन्दर्य र बेग्लै स्वाद छ भन्ने लागेकाले तिनलाई यहाँ समावेश गरेको हुँ । यसबापत हुने आलोचना मेरा लागि स्वीकार्य नै छ ।”

पुस्तकलाई ऐरावती प्रकाशन प्रा.लि ले बजारमा ल्याएको हो । एक सय साठी ओटा सूक्ति समेटिएको सङ्ग्रहको मूल्य एक सय पच्चिस रुपियाँ रहेको छ ।