नथाकेका पाइलाहरू – विष्णुप्रसाद पन्त
लेखक विष्णुप्रसाद पन्तको संस्मरणग्रन्थ हो ‘नथाकेका पाइलाहरू’ । पन्तले पुस्तकमा शिक्षा र जीवनको अभिन्नता, शिक्षाले जीवनमा पार्नुपर्ने प्रभाव जस्ता विषय बारे लेख्नुभएको छ ।
”नथाकेका पाइलाहरूमार्फत विष्णुप्रसाद पन्त सर नेपाली समाजका एक स्मरणीय प्रतिनिधि पात्रका रूपमा देखापर्नुभएको छ ।”, डा. शैलेन्दुप्रकाश नेपाल लेख्नुहुन्छ, ”सबैसँग मित्रवत् व्यवहार गर्नु, दुःखीप्रति सहानुभूतिशील बन्नु, समस्यालाई सहजीकरण गरेर समाधान गर्नु जस्ता विशेष लक्षण उहाँमा देखापर्छन् । सफलताको कडी यो पनि हो । यस कृतिमा उल्लेख गरिएका प्रत्येक विषयसन्दर्भ मार्मिक छन्, स्मरणीय छन् । अमृतबहादुर श्रेष्ठ तथा घटराज भट्टराईका जीवनका अन्तिम प्रसङ्गहरू पढ्दा आँखा रसाउँछन् । तसर्थ पनि यो कृति मार्मिक बनेको छ ।”
त्यसैगरी, पुस्तकमा कलानिधी दाहाल लेख्नुहुन्छ, ”यस कृतिको दृष्टिबिन्दु मूलतः तीन क्षेत्रमा विभाजित भएर फैलिएको छ । जन्मिएर हुर्केपछि शिक्षा आर्जनका लागि आफैंले गर्नुपरेका कठोर सङ्घर्षात्मक यात्राको बेलीबिस्तार पहिलो खण्डमा देखापर्दछ । चेतना आर्जनको टुङ्गो लागेपछि राजधानीमा स्थापित भएर आर्थिक विपन्नताका कारण पहिलेदेखि होमिदै आउनुपरेका व्यक्तिसामु ठाडो शिर बनाउन गर्नुपरेका सानादेखि ठूलासम्मका कठोर अवस्थाको हृदयविदारक विवरण यसको दोस्रो खण्डअन्तरगत अङ्कित भएको छ । दुवै क्षेत्रको उचाइ उक्लेपछि समाजसामु आफ्नो परिधिनिर्माण गरेर जानअनजान दुवै अवस्थामा गरिएका समाजसेवाका विवरण अटाएको खण्ड हो- तेस्रो खण्ड । यसमा लेखकले आफ्ना यात्राका क्रममा दिल छोएका मर्मस्पर्शी व्यक्तित्वहरूको समेत सम्झना गरेका छन् । यस्ता सम्झनामा राखेकामध्ये दुई व्यक्ति घटराज भट्टराई र प्रयागराज वाशिष्टचाहिँ आफ्नो जन्मजात वा प्रकृतिले दिएको साहित्यिक व्यक्तित्वबाट विमुख भई भौतिक क्षेत्रमा लागेर व्यक्तित्व विनाश गरेका व्यक्ति ठान्छु म ।”
पुस्तकलाई विष्णुप्रसाद पन्तले प्रकाशन गर्नुभएको हो । एक सय २७ पृष्ठमा समेटिएको पुस्तकको मूल्य तीन सय ५० रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

