आत्माको अदालतमा – ऋषिराम पाण्डेय

लेखक ऋषिराम पाण्डेयको आध्यात्मिक उपन्यास हो ‘आत्माको अदालतमा’ । पाण्डेयले पूर्वजन्म र आध्यात्मिक खोज, सनातन मार्ग अनुसार जीवन जिउने कलालाई यस उपन्यासको मूल विषय बनाउनुभएको छन् ।

”मेरो मनले कहिल्यै उपन्यास लेख्नुपर्छ भन्ने सोचेन । तर मलाई बलात् लेख्नुपर्छ भन्ने आभाष कुन स्रोतबाट प्राप्त भयो, अहिले पनि म अचम्मित नै छु ।”  पुस्तकमा लेखक पाण्डेय लेख्नुहुन्छ, ”मेरो हृदयलाई अनुप्राणित गराएर मबाट यो उपन्यास लेख्न बाध्य बनाउने सृष्टिको त्यस्तो अनौठो शक्ति भनौं या अदृष्य मार्गदर्शक भनौ त्यसप्रति म करूणा र प्रेमले भरिन्छु । म फगत माध्यम मात्र हुँ यो लेखनको । मलाई ऊर्जा भरिदिएर यो धरामा स्वर्गको परिकल्पनालाई सार्थक बनाउने भूमिका निर्वाह गर्ने त्यो असिम र अनन्त सत्तालाई मेरो कोटीकोटी नमन । … परमपिता परमेश्वरप्रति धेरैधेरै कृतज्ञ छु । प्रकृति जसले यो जगतका सबै प्राणीहरूमा पञ्चतत्त्वद्वारा सिञ्चन गरेको छ, त्यसप्रति म धन्यवादी छु ।पिता पिताम्बर पाण्डेय र माता गीता कुमारी पाण्डेयलाई जति धन्यवाद दिए पनि कम हुन्छ । जीवनसाथी गीता पुडासैनीका प्रति आत्मादेखि नै आभार व्यक्त गर्छु ।”

स्याङ्जा जिल्लाको आलमदेवी गा.वि.स कोटाकोट बेसीमा जन्मिनुभएकाे ऋषिराम पाण्डेयले पाटन बहुमुखी क्याम्पसबाट स्नातकोत्तर गर्नुभएकाे छ । २०६३ सालबाट नै अध्यात्मको मार्गमा हिँड्न शुरू गर्नुभएकाे उहाँले त्यही समयदेखि नै शाकाहारी हुने निधो गर्नुभयाे । विभिन्न प्रकारका योगहरू सिक्दै र अभ्यास गर्दै उहाँ निरन्तर अगाडि बढिरहनुभयाे  । उहाँको अध्यात्मप्रतिको रूचिका कारण विभिन्न धार्मिक ग्रन्थहरूको अध्ययन तथा तीर्थयात्रामा उहाँले समय खर्च गर्नुभएकाे छ । भारतको तीर्थयात्रा गर्ने क्रममा उहाँले बद्रिनाथसम्मको यात्रा गर्नुभएकाे थियाे । हाल उहाँ सरकारी सेवामा हुनुहुन्छ । उहाँको पहिलो पुस्तक सकारात्मक जीवन प्रसङ्ग प्रकाशित छ । आत्माको अदालतमा उहाँको दोस्रो कृति हो ।

पुस्तकलाई पाँचपोखरी प्रकाशन गृहले बजारमा ल्याएको हो । दुई सय २८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य तीन सय ७५ रुपियाँ रहेको छ ।