काठमाडौं । पूर्व ब्रिटिश गोर्खा सैनिक तथा समाजसेवी चामबहादुर पुनको जीवनगाथामा आधारित वृत्तचित्र ‘एन् एक्जेम्प्लेरी एक्स गुर्खा ब्रिटिस सोल्जर, चामबहादुर पुन’ को काठमाडौंको विश्वज्योति सिनेप्लेक्समा प्रदर्शन भएकाे छ । हल भरिएका दर्शकहरुले उहाँको जीवन यात्राको वृत्तान्तलाई ध्यानपूर्वक अवलोकन गर्नुभएकाे थियाे ।

वृत्तचित्रले म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडा निवासी पुनले आफ्नो जन्मथलोको विकासमा पुर्‍याएको अतुलनीय योगदानलाई उजागर गर्दछ । रिटायर्ड जीवनपछि उहाँले काफलडाँडामा पुन समुदायका कुलदेवता करबाकेलीको थान, पुन सामुदायिक सङ्ग्रहालय, सामुदायिक पाहुनाघर जस्ता संरचना निर्माणमा अग्रणी भूमिका खेल्नुभएकाे छ । यति मात्र नभई, पुनहिलदेखि करबाकेली थान हुँदै बेनीबजार जोड्ने पदमार्गलाई ‘करबाकेली इको ट्रेक’ का रुपमा ब्रान्डिङ गर्ने काम पनि उहाँकै नेतृत्वमा सम्पन्न भएको छ ।

दुई दशकभन्दा बढी समयदेखि करबाकेली क्षेत्रको विकासमा समर्पित पुनले आफ्नो कुलदेवता करबाकेली बाबाको अनुसन्धान गरी पुन जीवनशैलीमा आधारित चलचित्र ‘एज्यू भाग १’ र ‘एज्यू भाग २’ समेत निर्माण गर्नुभएकाे छ । बेलायतमा बसोबास गर्ने परिवारलाई उतै छोडेर उहाँ वर्षको अधिकांश समय आफ्नो जन्मथलोमै बिताउँनुहुन्छ। उहाँको यो समर्पण र सामाजिक कार्यले धेरैलाई प्रेरणा प्रदान गरेको छ ।

वि.सं. २०३० मा ब्रिटिश सेनामा भर्ती भई २०४४ मा अवकाश पाउनुभएकाे पुनले त्यसपछि १० वर्ष ब्रुनाईका सुल्तानको सेवामा समेत बिताउनुभएकाे थियाे । सेवाबाट अवकाश पश्चात् उहाँले २०५७ सालतिर ‘करबाकेली अनुसन्धान समिति’ गठन गरी सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ । उहाँले करबाकेली बाबा र पुन समुदायको संस्कार तथा संस्कृति अध्ययन गरी पुस्तक पनि लेख्नुभएकाे छ ।

कार्यक्रममा मानवअधिकारवादी नेतृ मोहना अन्सारी, नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, लेखक तथा वृत्तचित्र निर्देशक शेखर खरेल, चलचित्र निर्देशक रवि सायमी लगायतले वृत्तचित्रले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयाे । उहाँहरुले पुनले जन्मभूमिप्रति देखाएको प्रेम र समर्पणको प्रशंसा गर्नुभएकाे थियाे । राधा पुनद्वारा निर्माण गरिएको १७ मिनेट लामो वृत्तचित्र पर्यटन पत्रकार अमृत भादगाउँलेले निर्देशन गर्नुभएकाे हाे ।