साहित्यकार वियोगी बुढाथोकीको नयाँ नियात्राकृति ‘समयले जुटाएको चिटचिट’ काठमाडौंमा एक समारोहकाबीच सार्वजनिक गरिएको छ।
मंगलबार आयोजित कार्यक्रममा नियात्रा समाजका अध्यक्ष मोहन चापागाईंले कृतिको विमोचन गर्दै यसलाई विभिन्न रोचक प्रसंग, कविता र गजलहरूले सजिएको उत्कृष्ट कृति भएको बताउनुभयो। उहाँले वियोगीका नियात्राहरूमा मानवीकरणको सुन्दर सम्मिश्रण रहेको उल्लेख गर्नुहुँदै साहित्यकारको व्यक्तित्व उहाँका कृतिमा स्पष्ट रूपमा झल्किने धारणा राख्नुभयो।
यो बुढाथोकीको पाँचौँ नियात्राकृति र कुल अठारौँ कृति हो। प्राध्यापक कपिल अज्ञातले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै वियोगीका नियात्रामा निजात्मक अनुभूति र सन्देशको गहनतालाई उजागर गर्नुभयो भने अर्की समीक्षक अनुपमा रेग्मीले अनुभूति र अभिव्यक्तिको गहनताको प्रशंसा गर्नुभयो । कार्यक्रममा कृतिकार बुढाथोकीले आफ्नो कृतिको अन्तर्य र लेखकीय मन्तव्य प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा सर्जक श्रीओम रोदन, प्रोल्लास सिन्धुलीय, भवानी खतिवडा, केशव पराजुली, सोझो गाउँले लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रकाश घायलले सहजीकरण गर्नुभएको कार्यक्रमको अध्यक्षता विष्णुबहादुर सिंहले गर्नुभएको थियो। शिवपुरी साहित्य समाज र शिवपुरी सन्देश त्रैमासिकले आयोजना गरेको थियाे । भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको ‘समयले जुटाएको चिटचिट’ नियात्राकृतिप्रति साहित्यप्रेमीहरूमा उत्साह देखिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

