साहित्यकार वियोगी बुढाथोकीको पाँचौँ नियात्राकृति ‘समयले जुटाएको चिटचिट’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ।

उहाँको यो अठारौँ कृति हो। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नियात्रा समाजका अध्यक्ष मोहन चापागाईंले कृति सार्वजनिक गर्दै वियोगीका नियात्राहरूमा मानवीकरणको सुन्दर सम्मिश्रण रहेको बताउनुभयाे । उहाँले साहित्यकारको व्यक्तित्व उनका कृतिमा झल्कने उल्लेख गर्दै यस कृतिलाई विभिन्न रोचक प्रसंग, कविता तथा गजलहरूले सजिएको उत्कृष्ट कृति भएको बताउनुभयाे ।

प्रा. कपिल अज्ञातले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै वियोगीका नियात्रामा निजात्मक अनुभूति र सन्देशले भरिएको कुरा उल्लेख गर्नुभयाे । अर्की समीक्षक अनुपमा रेग्मीले वियोगीका नियात्रामा अनुभूति र अभिव्यक्तिको गहनतालाई प्रशंसा गर्नुभएकाे थियाे । कृतिकार बुढाथोकीले आफ्नो कृतिको अन्तर्य र लेखकीय मन्तव्य प्रस्तुत गर्नुभएकाे थियाे ।
कार्यक्रममा सर्जक श्रीओम रोदन, प्रोल्लास सिन्धुलीय, भवानी खतिवडा, केशव पराजुली, सोझो गाउँले लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । प्रकाश घायलले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे भने विष्णुबहादुर सिंहले अध्यक्षता गर्नुभएकाे थियाे । शिवपुरी साहित्य समाज र शिवपुरी सन्देश त्रैमासिकको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको यस नियात्राकृतिले पाठकहरूको मन जित्ने विश्वास व्यक्त गरिएको थियो।