ललितपुर । बालबालिकामा पढ्ने बानीको विकास गर्ने विषय आम अभिभावक र शिक्षकका लागि चासोको विषय बनेको छ।

घर, विद्यालय र समाजले बालबालिकाको पठन संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेल्छन्। पाठ्यपुस्तक केन्द्रित शिक्षा पद्धतिभन्दा बाहिर गएर बालबालिकालाई अन्य पुस्तक पढाउन प्रोत्साहित गर्ने विषयमा विभिन्न मतहरू रहेका छन्। यसै सन्दर्भमा शनिबार ललितपुरको युलेन्स स्कुलमा आयोजित ‘पहिलो राष्ट्रिय पठन सम्मेलन’ले पठन संस्कृतिको विकासका विभिन्न पक्षहरूमा बहस चलाएको छ।

सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त प्रमुख अतिथि रहनुभएकाे थियाे । समाजशास्त्री प्रा.डा. चैतन्य मिश्र र काठमाडौँ विश्वविद्यालयका डीन प्रा.डा. बालचन्द्र लुइँटेलले पठन संस्कृतिको विकास, प्रभाव र भविष्यका सम्बन्धमा आफ्ना धारणा प्रस्तुत गर्नुभएकाे थियाे । विद्यालय पाठ्यक्रममा साहित्यको समावेश, ठूलो स्वरमा पढ्ने र अन्तरक्रियात्मक पढाइको महत्त्व, विज्ञान कथाको प्रयोग, पढाइमा ध्यान केन्द्रित गर्ने तरिका, प्रारम्भिक वर्षमा पठन संस्कृतिको विकास र कक्षाकोठामा कथन वाचन जस्ता विषयहरूमा समेत छलफल भएकाे थियाे।

काठमाडौँ मेडिकल कलेजका प्राध्यापक डा. अमित थापाले “स्नायुसम्बन्धी दृष्टिकोणमा पुस्तक पठनको बानी” विषयक आकर्षक प्रस्तुति दिनुभयाे । उहाँले एक जना डाक्टरले शल्यक्रिया गर्नुअघि आफ्नो मनमा ६ पटकसम्म शल्यक्रियाको अभ्यास गर्ने अनुभवसँग पठन संस्कृतिको प्रभावकारिताको तुलना गर्नुभयाे।

शनिबारको प्यानल छलफलमा ‘विद्यालयमा पठन संस्कृतिको विकास: वर्तमान परिदृश्य र भविष्यको मार्गचित्र’ विषयमा शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा, युलेन्स एजुकेसन फाउन्डेसनका प्रमुख शैक्षिक अधिकृत मेदिन लामिछाने, रुम टु रिडका साक्षरता निर्देशक नेत्र दाहाल र प्यानका अध्यक्ष सुदाम गौतमले सहभागिता जनाउनुभएकाे थियाे ।

छलफलमा सहभागीहरूले शिक्षामा प्रतिस्पर्धाभन्दा सहकार्यलाई जोड दिँदै अभिभावक र शिक्षकमा पढ्ने बानीको विकासले विद्यार्थीमा सकारात्मक प्रभाव पार्ने धारणा राख्नुभयाे । लामिछानेले आफूले विद्यार्थीसँग जोड्न सक्ने पुस्तक छानेर पढ्ने गरेको अनुभव सुनाउनुभयाे भने युलेन्स स्कुलले पाठ्यपुस्तक बाहेकका पुस्तक पनि पढ्न विद्यार्थीलाई प्रोत्साहन गर्ने गरेको बताउनुभयाे । लामिछानेले आफ्नो छोराले ८ कक्षामा पुग्दासम्म पुस्तक पूर्ण रूपमा नपढेको तर आफ्नो पठन संस्कृति देखेर ९ कक्षा पछि उसमा पढ्ने बानीको विकास भएको अनुभव सुनाउँदै धैर्यताको महत्त्वमा जोड दिनुभयाे ।

रुम टु रिडका निर्देशक दाहालले पठन संस्कृतिको विकासका लागि विद्यालयको वातावरण, शिक्षण तालिम र पुस्तकालयको उपयोगिता महत्वपूर्ण रहेको बताउनुभयाे । शिक्षा मन्त्रालयका सहसचिव सापकोटा विद्यालयलाई पठन संस्कृतिको विकास गर्ने सम्पूर्ण अधिकार रहेको बताउँदै, बहुपाठ्यपुस्तक प्रणाली र डिजिटल सिकाइ स्रोतको महत्त्व उल्लेख गर्नुभयाे । उहाँले सरकारले एसईईको नतिजालाई गम्भीरतापूर्वक लिने कारण र पाठ्यक्रम बाहिरका पुस्तकको सम्भावित जोखिमका बारेमा स्पष्ट पार्नुभयाे । उहाँले सरकारले विद्यार्थीलाई एउटै पाठ्यपुस्तकमा मात्र सीमित नगरेको र पठन स्वतन्त्रतालाई सम्बोधन गरिएको बताउनुभयाे।