‘साहित्यपोस्ट आख्यान पुरस्कार २०८१’ को छोटो सूचीमा नेपाल सरकारका पूर्व उप–सचिव ज्ञानेन्द्रराज काफ्लेको उपन्यास ‘नौला शिक्षकहरू’ पर्न सफल भएको छ । यो सूचीमा आफ्नो पहिलो (डेब्यु) कृतिका रूपमा आख्यान लेखेका पाँच लेखक समावेश छन् ।

नाम जस्तै उपन्यासले नौलो शैली र धारलाई समाएको छ । उपन्यासमा धेरै ठाउँ लेखक काफ्ले आफैँ समाहित भएको पाठकले महसूस गर्छ, तसर्थ काफ्लेको सिकाइ र अनुभवकै आख्यानीकृत रुपमा यो पुस्तकलाई लिन सकिन्छ । उपन्यासकारले विधामिश्रणको उचित नमूना कृतिमा प्रस्तुत गरेका छन् । उपन्यासभित्रै निबन्ध, संस्मरण, दैनिकी, प्रतिवेदन, कविता, लोककाव्य आदि अटाउनसक्नु उपन्यासकारको लेखनको शक्तिका रुपमा देखापरेको छ । काफ्ले उपन्यासलाई सात खण्डमा विभाजन गरेका छन्, जसमध्ये पहिलो र अन्तिम खण्डमा उनी आफ्नै कथा भन्छन् । बीचमा पाँच खण्डमा घर, परदेश, यात्रा, स्वदेश तथा जीवनरुपी नौला शिक्षकहरुका कथा छन् । पुस्तकलाई सोपान मासिकले प्रकाशनमा ल्याएको हो ।

छोटो सूचीमा रमणको कथासङ्ग्रह ‘कथा हुन्, कथा हैनन्’, जयराम तिमल्सिनाको उपन्यास ‘धीमहि’, पुरुषोत्तम बजगाईंको उपन्यास ‘नीलो प्रेम’, ज्ञानेन्द्र काफ्लेको उपन्यास ‘नौला शिक्षकहरू’ र बालिका वान्तावाको उपन्यास ‘प्याउली’ रहेका छन् ।

यसअघि ०८१ सालमा प्रकाशित नवोदित लेखकका साहित्यपोस्टलाई प्राप्त ४४ आख्यान विधाका कृतिहरूबाट ११ कृतिको ‘लामो सूची’ सार्वजनिक गरिएको थियो । पाँच कृतिको छोटो सूची तिनै ११ कृतिहरूको मूल्याङ्कनबाट छानिएको हो ।

यसअघि पुरस्कारको लामो सूचीमा अनिता कोइरालाको उपन्यास ‘उज्यालो औँसी’, रमणको कथासङ्ग्रह ‘कथा हुन् कथा हैनन्’, महेन्द्र नेउपानेको लघुकथासङ्ग्रह ‘चिन्द्रविनोद’, जयराम तिमल्सिनाको उपन्यास ‘धीमहि’, पुरुषोत्तम बजगाईंको उपन्यास ‘नीलो प्रेम’, ज्ञानेन्द्रराज काफ्लेको उपन्यास ‘नौला शिक्षकहरू’, बालिका बान्तावाको उपन्यास ‘प्याउली’, ममता मिश्रको उपन्यास ‘पहिचान’, दिपक समिरको कथासङ्ग्रह ‘मुना-मदनको डिभोर्स पार्टी’, राजकुमार श्रेष्ठको उपन्यास ‘रोयल चारघरे’ र किरण नेपालीको उपन्यास ‘सुप्रिम सुप्रिया’ रहेका छन् ।

लामो सूचीबाट पाँच आख्यान कृतिहरूको छोटो सूची साहित्यपोस्टका विधा सम्पादकसहितको निर्णायक समूहले छानेको हो । कथा संरचना, घटनाहरूको संयोजन र सिलसिला, दृष्टिकोण निर्माण, नवीनता, सामाजिकता र समयचेत, चरित्रकार्य, प्रस्तुति तथा शीर्षक सार्थकता लगायत आख्यानका विविध आयमहरूलाई आधार बनाई कृतिहरूको मूल्याङ्कन रिएको निर्णायक समूहले जनाएको छ ।

तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल कृतिमध्ये उत्कृष्ट तीनको छनौट गरिने छ । उत्कृष्ट तीनमध्येबाट सर्वोत्कृष्ट कृति छनौट गरी ५० हजार राशिको ‘साहित्यपोस्ट आख्यान पुरस्कार २०८१’ प्रदान गरिने छ ।

‘साहित्यपोस्ट आख्यान पुरस्कार’को प्रायोजन साहित्यकार चैतन्य अधिकारीले गर्नुभएको छ । जापानको सागा विश्वविद्यालयबाट केमिकल इन्जिनियरिङमा विद्यावारिधि गर्नुभएका अधिकारी पोखरेली युवा सांस्कृतिक परिवारको सचिवसमेत हुनुहुन्छ । अधिकारीका ‘जुद्ध शमशेरका नाममा’ र ‘झरीको किनार’ कवितासङ्ग्रह प्रकाशित छन् ।

‘साहित्यपोस्ट काव्य र गैरआख्यान पुरस्कार’को छोटो सूची प्रकाशन गरिसकिएको छ । अगामी चरणमा, काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका उत्कृष्ट तीन पुस्तक (साहित्यपोस्ट नवरत्न २०८१) को घोषणा गरिने छ । तीन विधाका तीन उत्कृष्ट कृतिमध्येबाट एक-एकलाई ५०-५० हजार राशिको पुरस्कार तथा सम्मान औपचारिक समारोहको आयोजना गरी प्रदान गरिनेछ ।