पोखरा । साहित्य, कला र संगीतको त्रिवेणीका रुपमा परिचित पोखरेली युवा सांस्कृतिक परिवारले ३२ वर्षदेखि निरन्तर आयोजना गर्दै आएको ‘समता काव्य सन्ध्या’को ३८१ औं शृंखला सम्पन्न भएको छ।
विभिन्न साहित्यकारहरूको सहभागितामा सम्पन्न कार्यक्रममा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले आफ्नो विचार व्यक्त गर्दै पोखरेली युवा सांस्कृतिक परिवारले साहित्य, संगीत र कलाको समन्वयलाई निरन्तर अगाडि बढाएकोमा प्रशंसा गर्नुभयाे ।
उहाँले भन्नुभयाे, “तीसको दशकदेखि वाङ्मयका तीन धारा साहित्य, संगीत र कलालाई संगसंगै लिएर हिंडेको छ । प्रत्येक दशकमा नयाँ नयाँ स्रष्ठाहरु जन्मेका छन् । अहिले हामी चौथो दशकमा छौं । यो क्रम अविराम रुपले अघि बढिरहने छ । अहिले कविले कविता रचना र वाचन गरिरहें पनि कवितामाथि चिन्तन कम भएको छ । पहिला भूपी शेरचनको सरल काव्यधाराको नेतृत्व गरेका भनें मोहन कोइरालाको प्रयोगवादी धारा पनि थियो । जुन दुरुह मानिन्थ्यो । तर मोहन कोइरालाको सबै कविता दुरुह छैनन् र भूपीका सबै कविता सरल पनि छैनन् । त्यसैले कवितालाई सापेक्ष रुपमा हेर्नुपर्छ ।”
नेपाल प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पसका अध्यक्ष प्रा.डा. लक्ष्मीशरण अधिकारीले कविता पढ्नु र सुन्नु दुवै महत्त्वपूर्ण पक्ष भएको बताउनुभयाे । उहाँले आफ्नो अनुभव सुनाउँदै भन्नुभयाे, “पहिले प्रयोगवादी कविता रुचिपूर्वक पढ्ने गर्दा बुझ्थें । अहिले पढ्न छाडेपछि बुझ्न गाह्रो पर्छ । त्यसैले विशिष्ट खालका कृति पढेपछि बोध क्षमता पनि बढ्दै जान्छ।”
कार्यक्रममा डा. ईश्वरमणि अधिकारी, अमृत, केशु शर्मा, शिव त्रिपाठी, रोशन तिमिल्सिना, रेशम गिरी, लोचना अधिकारी, ढाकामोहन बराल, अदिती शर्मा लगायतका कविहरूले आ-आफ्ना रचनाहरू वाचन गर्नुभएकाे थियाे ।
संस्थाका उपाध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत साहित्य विभागकी संयोजक केशु शर्माले गर्नुभएकाे थिइन् भने कार्यक्रमको सञ्चालन सचिव एमडी काफ्लेले गर्नुभएकाे थियाे । कार्यक्रमले साहित्यिक क्षेत्रलाई थप उर्जा प्रदान गरेको सहभागीहरूले बताउनुभएकाे छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

