घोराही । साहित्यकार गिरिराज खनालको ‘पहिलो किरण’ कवितासङ्ग्रहको घोराहीमा लोकार्पण गरिएको छ।
राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार तथा संस्कृतिविद् डा. गोविन्द आचार्य प्रमुख अतिथि रहनुभएको थियो भने राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनाल विशिष्ट अतिथि रहनुभएकाे थियाे । कार्यक्रमको अध्यक्षता राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीले गर्नुभएको थियो।
विमोचित कृतिको समीक्षा साहित्यकार रेशम बिसीले गर्दै ‘पहिलो किरण’ लेखकको पहिलो कृति भएको र यसमा रहेका ५२ वटा कविता सबै छन्दमा रहेको बताउनुभयो। उहाँका अनुसार पुस्तकमा एक दर्जनजति छन्दहरूको प्रयोग गरिएको छ, जसमा झ्याउरे छन्दका कविताहरूको बाहुल्यता रहेको छ। बिसीले यो कृति बालक, युवा तथा प्रौढ सबैका लागि उपयोगी हुने धारणा राख्नुभयो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. आचार्यले पुस्तकमा समावेश कविताहरू अत्यन्त सरल र सत्यमा आधारित रहेको बताउनुभयो। उहाँले कुनै पनि कविता बुझ्नका लागि शब्दकोशको आवश्यकता नपर्ने उल्लेख गर्नुभयो।
राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनाल, प्रगतिशील लेखक सङ्घ केन्द्रका सल्लाहकार पद्मप्रसाद शर्मा, राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। लेखक खनालले पुस्तक लेखनदेखि प्रकाशनसम्मका अनुभवहरू सुनाउनुभएको थियो।
कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष डा. टीकाराम उदासी, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, उपाध्यक्ष गोविन्द पौडेल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोखरेल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यसैगरी, साहित्यकार यज्ञबहादुर डाँगी, नारायण नेपाल, गीतकार प्रकाश केसी लगायत दर्जनौँ साहित्यकारहरूको उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।
राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सदस्य रिमा गौतमले गर्नुभएको थियो। कार्यक्रममा संस्थाले ‘पहिलो किरण’ का लेखक खनाललाई प्रशंसा पत्रले सम्मान गरेको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

