तिलोत्तमा । मुक्तककार लीलाधर प्रतीकको नवीनतम मुक्तक संग्रह ‘आँखाको नानी’ शनिबार एक समारोहबीच लोकार्पण भएको छ।
तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकार वनमाली निराकार, भाषाविद् प्राध्यापक डा. मुरारी पराजुली, शिक्षाविद् गोविन्द ज्ञवाली, शिक्षाविद् दलबहादुर गुरुङ र स्वयं कृतिकार लीलाधर प्रतीकले संयुक्त रूपमा उक्त संग्रहको लोकार्पण गर्नुभएकाे थियाे।
न्यू होराईजन गौतम बुद्धको सभाहलमा सम्पन्न कार्यक्रममा शिक्षाविद् दलबहादुर गुरुङले कृतिबारे आफ्नो धारणा प्रस्तुत गर्नुभयाे । डा. मुरारी पराजुलीले मुक्तकलाई कविताको लघुत्तम आयाम भन्दै यसको बढ्दो प्रभावकारितालाई उल्लेख गर्नुभयो र प्रतीकको कृतिलाई शिखरमुखी रहेको बताउनुभयो। साहित्यकार वनमाली निराकारले प्रतीकका मुक्तकहरूले समसामयिक विषयवस्तु र वर्तमान असन्तुलित राजनीतिक परिवेशलाई मार्मिक ढङ्गले उजागर गरेको बताउँदै प्रशंसा गर्नुभयाे ।
प्रतिष्ठानका उपाध्यक्ष कविराज पौडेलले कार्यक्रमको सञ्चालन गर्नुभएकाे थियाे । कार्यक्रममा प्रलेस अध्यक्ष कृष्ण गाउँले, लुम्बिनी वाङ्मय प्रतिष्ठानका सचिव पुरुषोत्तम पाण्डे, शंकर भण्डारी लगायतले मुक्तक वाचन गर्दै आ-आफ्ना विचार प्रकट गर्नुभएकाे थियाे । कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरूले ‘आँखाको नानी’ लोकार्पणलाई साहित्य जगतको लागि महत्वपूर्ण उपलब्धि भएको धारणा राख्नुभएकाे थियाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

