‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार २०८१’ को छोटो सूचीमा उद्यमी तथा सर्जक रीता न्यौपाने पहारीको निजात्मक निबन्धहरुको सङ्ग्रह ‘बेरीतका रीतहरू’ पर्न सफल भएको छ । यो सूचीमा आफ्नो पहिलो (डेब्यु) कृतिका रूपमा गैरआख्यान लेखेका पाँच लेखक समावेश छन् ।
पुस्तकमा न्यौपानेले जीवनका आरोह–अवारोह तथा स्व. जीवनसाथी हेमराज पहारीका स्मृतिलाई समेटेकी छिन् । विभिन्न सामाजिक तथा साहित्यिक संस्थामा आबद्ध हेमराज पहारी फेवाताल संरक्षण समितिको अध्यक्ष थिए । समितिको अध्यक्ष रहेकै अवस्थामा २०६६ फागुनको मोटरसाइकल दुर्घटनामा परी उनको निधन भएको थियो । पहारीका कवितासङ्ग्रह ‘देशको अभिभारा’, नियात्रा ‘उत्तरी गोलार्ध’मा प्रकाशित छन् ।
समाजशास्त्रमा स्नातकोत्तर रीताले पुस्तक स्व. जीवनसाथीलाई समर्पण गरेकी छिन् । पुस्तकले पतिवियोगपछि लेखकले गरेको संघर्षका साथै पारिवारिक, सामाजिक लगायत विविध पाटोलाई समेत उजागर गरेको छ । पुस्तकलाई हेमराज पहारी स्मृति प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो ।
छोटो सूचीमा रमेश भुसालको नियात्रा ‘छालबाटोः कैलाशदेखि गङ्गासम्म’, सञ्जीव पौडेलको संस्मरणात्मक कृति ‘छोटु’, छविलाल पाठकको संस्मरण ‘धौलागिरि छायामुनि’, रीता न्यौपाने पहारीको निजात्मक निबन्धहरूको सङ्ग्रह ‘बेरीतका रीतहरू’ र तारा भट्टराईको सिर्जनात्मक गैरआख्यान ‘मार्केट अफ स्वीटहार्ट’ रहेका छन् ।
यसअघि ०८१ सालमा प्रकाशित नवोदित लेखकका साहित्यपोस्टलाई प्राप्त १३ गैरआख्यान विधाका कृतिहरूबाट ७ कृतिको ‘लामो सूची’ सार्वजनिक गरिएको थियो । पाँच कृतिको छोटो सूची तिनै ७ कृतिहरूको मूल्याङ्कनबाट छानिएको हो ।
यसअघि पुरस्कारको लामो सूचीमा साबित्री सिंह चित्रकारको ‘अमर चित्रकार’, रमेश भुसालको नियात्रा ‘छालबाटोः कैलाशदेखि गङ्गासम्म’, सञ्जीव पौडेलको संस्मरण ‘छोटु’, छविलाल पाठकको संस्मरण ‘धौलागिरि छायामुनि’, रीता न्यौपाने पहारीको निजात्मक निबन्धहरूको सङ्ग्रह ‘बेरीतका रीतहरू’, तारा भट्टराईको सिर्जनात्मक गैरआख्यान ‘मार्केट अफ स्वीटहार्ट’ र रिजाल स्वामीको अध्यात्मिक पुस्तक ‘श्रीवार’ रहेका थिए ।
लामो सूचीबाट पाँच गैरआख्यान कृतिहरूको छोटो सूची साहित्यपोस्टका विधा सम्पादकसहितको निर्णायक समूहले छानेको हो । संरचना, सम्प्रेषित विचार र दृष्टि, दृष्टिकोण निर्माण, नवीनता, सामाजिकता र समय चेत, प्रस्तुति, बिम्ब र प्रतीकको प्रयोग तथा शीर्षकको सार्थकता लगायत गैरआख्यानका विविध आयमहरूलाई आधार बनाई कृतिहरूको मूल्यांकन गरिएको निर्णायक समूहले जनाएको छ ।
तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल कृतिमध्ये उत्कृष्ट तीनको छनौट गरिने छ । उत्कृष्ट तीनमध्येबाट सर्वोत्कृष्ट कृति छनौट गरी ५० हजार राशिको ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार २०८१’ प्रदान गरिने छ ।
‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’को प्रायोजन कवि एवं समालोचक विनयकुमार भण्डारीले गर्नुभएको छ । भण्डारीको कवितासङ्ग्रह ‘समात्नलाई राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन’ प्रकाशित छ भने साहित्यपोस्टमा प्रकाशित बृहत् समालोचनाहरू लोकप्रिय छन् ।
‘साहित्यपोस्ट काव्य पुरस्कार’को छोटो सूची प्रकाशन गरिसकिएको छ । ‘साहित्यपोस्ट आख्यान पुरस्कार’का छोटो सूची जेठ ४ गते (आइरबार) सार्वजनिक गरिनेछ । अगामी चरणमा, काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका उत्कृष्ट तीन पुस्तक (साहित्यपोस्ट नवरत्न २०८१) को घोषणा गरिने छ । तीन विधाका तीन उत्कृष्ट कृतिमध्येबाट एक-एकलाई ५०-५० हजार राशिको पुरस्कार तथा सम्मान औपचारिक समारोहको आयोजना गरी प्रदान गरिनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 




