गैरआख्यान लेखेर नेपाली साहित्यमा पदार्पण गरेका नवोदित लेखकलाई साहित्यपोस्टले प्रदान गर्ने ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार २०८१’का लागि छोटो सूची जारी गरिएको छ । सूचीमा आफ्नो पहिलो कृतिका रूपमा गैरआख्यान लेखेका पाँच लेखक समावेश छन् ।

सूचीमा रमेश भुसालको नियात्रा ‘छालबाटोः कैलाशदेखि गङ्गासम्म’, सञ्जीव पौडेलको संस्मरणात्मक कृति ‘छोटु’, छविलाल पाठकको संस्मरण ‘धौलागिरि छायामुनि’, रीता न्यौपाने पहारीको निजात्मक निबन्धहरूको सङ्ग्रह ‘बेरीतका रीतहरू’ र तारा भट्टराईको सिर्जनात्मक गैरआख्यान ‘मार्केट अफ स्वीटहार्ट’ रहेका छन् ।

यसअघि ०८१ सालमा प्रकाशित नवोदित लेखकका साहित्यपोस्टलाई प्राप्त १३ गैरआख्यान विधाका कृतिहरूबाट ७ कृतिको ‘लामो सूची’ सार्वजनिक गरिएको थियो । पाँच कृतिको छोटो सूची तिनै ७ कृतिहरूको मूल्याङ्कनबाट छानिएको हो ।

यसअघि पुरस्कारको लामो सूचीमा साबित्री सिंह चित्रकारको ‘अमर चित्रकार’, रमेश भुसालको नियात्रा ‘छालबाटोः कैलाशदेखि गङ्गासम्म’, सञ्जीव पौडेलको संस्मरण ‘छोटु’, छविलाल पाठकको संस्मरण ‘धौलागिरि छायामुनि’, रीता न्यौपाने पहारीको निजात्मक निबन्धहरूको सङ्ग्रह ‘बेरीतका रीतहरू’, तारा भट्टराईको सिर्जनात्मक गैरआख्यान ‘मार्केट अफ स्वीटहार्ट’ र रिजाल स्वामीको अध्यात्मिक पुस्तक ‘श्रीवार’ रहेका थिए ।

लामो सूचीबाट पाँच गैरआख्यान कृतिहरूको छोटो सूची साहित्यपोस्टका विधा सम्पादकसहितको निर्णायक समूहले छानेको हो । संरचना, सम्प्रेषित विचार र दृष्टि, दृष्टिकोण निर्माण, नवीनता, सामाजिकता र समय चेत, प्रस्तुति, बिम्ब र प्रतीकको प्रयोग तथा शीर्षकको सार्थकता लगायत गैरआख्यानका विविध आयमहरूलाई आधार बनाई कृतिहरूको मूल्यांकन गरिएको निर्णायक समूहले जनाएको छ ।

तेस्रो चरणमा छोटो सूचीमा पर्न सफल कृतिमध्ये उत्कृष्ट तीनको छनौट गरिने छ । उत्कृष्ट तीनमध्येबाट सर्वोत्कृष्ट कृति छनौट गरी ५० हजार राशिको ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार २०८१’ प्रदान गरिने छ ।

‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’को प्रायोजन कवि एवं समालोचक विनयकुमार भण्डारीले गर्नुभएको छ । भण्डारीको कवितासङ्ग्रह ‘समात्नलाई राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन’ प्रकाशित छ भने साहित्यपोस्टमा प्रकाशित बृहत् समालोचनाहरू लोकप्रिय छन् ।

‘साहित्यपोस्ट काव्य पुरस्कार’को छोटो सूची प्रकाशन गरिसकिएको छ । ‘साहित्यपोस्ट आख्यान पुरस्कार’का छोटो सूची जेठ ४ गते (आइरबार) सार्वजनिक गरिनेछ । अगामी चरणमा, काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका उत्कृष्ट तीन पुस्तक (साहित्यपोस्ट नवरत्न २०८१) को घोषणा गरिने छ । तीन विधाका तीन उत्कृष्ट कृतिमध्येबाट एक-एकलाई ५०-५० हजार राशिको पुरस्कार तथा सम्मान औपचारिक समारोहको आयोजना गरी प्रदान गरिनेछ ।

छोटो सूचीमा पर्न सफल पाँच गैरआख्यान विधाका कृतिहरूः

१. छालबाटोः कैलाशदेखि गङ्गासम्म – रमेश भुसाल

पत्रकार तथा वातावरण विज्ञ रमेश भुसालको नियात्रा कृति हो ‘छालबाटोः कैलाशदेखि गङ्गासम्म’ । भुसालले ४५ दिन लगाएर तीन देशको दुई हजार किलोमिटर लामो यात्रा गरेका छन्, त्यही यात्राका साहित्यिक रससहितको व्याख्या र विवेचना हो पुस्तक । पुस्तकमार्फत पाठकलाई कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्नाली नदीको उद्गम हुँदै भारतको गङ्गासम्मको यात्रा गराएका छन् । पुस्तकमा लेखकका आँखाले देखेका र मनमा बसेका नदीको वर्णन गरिएको छ ।

भुसालले प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसी, द गार्डियनलगायत नेपालका प्रमुख पत्रपत्रिकामा वातावरणीय विषयमा अनुसन्धानात्मक रिपोर्टिङ तथा विश्लेषण प्रकाशन गरेका छन् । वातावरण विज्ञानमा स्नातकोत्तर भुसाल वातावरण पत्रकारहरुको विश्वव्यापी सञ्जाल अर्थ जर्नलिज्म नेटवर्कका दक्षिण एसिया संयोजक एवम् अन्तर्राष्ट्रिय वातावरण अनलाइन डायलग अर्थका नेपाल सम्पादकसमेत हुन् । पुस्तकलाई फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।

===

२. छोटु – सञ्जीव पौडेल

कृषि विकास बैंकमा ३० वर्ष सेवा गरेर सेवानिवृत्त भएका लेखक सञ्जीव पौडेलको संस्मरणात्मक कृति हो, ‘छोटु’ । पुस्तकमा पौडेलले आफ्नो सुदूर बाल्यकालदेखि जीवनका भोगाइ, गरेका सङ्घर्ष तथा हासिल गरेका उपलब्धिहरूलाई सिलसिलेबर तवरले प्रस्तुत गरेका छन् । बाल्यकाल र युवाकालका साथै पौडेलले पुस्तकमा आफू आबद्ध संस्थाभित्र देखिएको समस्या र सम्भावनाहरु पनि केलाएका छन् । पौडेलले कृतिमार्फत मनमा गुम्सिएका दुःख र पीरव्यथा मात्र नभएर सुख, सन्तोषहरूसमेत मन हलुका बनाउने उपक्रममा साहित्यिक रङमा प्रस्तुत गरेका छन् ।

सामान्य परिवारबाट उठेर बैंकको उच्च तहसम्मको पौडेलको यात्रा प्रेरणादायी छ । पौडेल कृषि विकास बैंकका सञ्चालक सदस्य समेत हुन् । पुस्तकलाई मीना अधिकारी (पौडेल) ले प्रकाशनमा ल्याएकी हुन् ।

===

३. धौलागिरि छायामुनि – छविलाल पाठक

३२ वर्ष नेपाल सरकारको कर्मचारीका रुपमा कार्य गरी २०७१ सालमा आवकाश लिएका व्यक्ति हुन् छविलाल पाठक, र पाठकको पहिलो साहित्यिक कृति हो संस्मरण ‘धौलागिरि छायामुनि’ । पाठकले आफूले बाँचेको समय र परिवेशलाई सरल र सरस शब्दमा उतारेका छन् । धौलागिरि हिमचुलीको छायामुनि, कालीगण्डकीको सेरोफेरोको जन्मेहुर्केका लेखकले बाल्यकालीन समयको समाज, परिवेश, पारिवारिक अवस्था तथा स्थानीयतालाई झर्रो भाषा–शैलीमा पुस्तकमा समेटेका छन् ।
पछिल्लो समय पाठक सामाजिक कार्यको साथै भाषा साहित्य, धर्म–संस्कृति, इतिहास, भूगोल, समाजशास्त्र, दर्शनशास्त्रको अध्ययन र लेखनमा क्रियाशील रहँदै आएका छन् । पुस्तकलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो ।

===

४. बेरीतका रीतहरू – रीता न्यौपाने पहारी

उद्यमी तथा सर्जक रीता न्यौपाने पहारीको निजात्मक निबन्धहरुको सङ्ग्रह हो ‘बेरीतका रीतहरू’ । पुस्तकमा न्यौपानेले जीवनका आरोह–अवारोह तथा स्व. जीवनसाथी हेमराज पहारीका स्मृतिलाई समेटेकी छिन् । विभिन्न सामाजिक तथा साहित्यिक संस्थामा आबद्ध हेमराज पहारी फेवाताल संरक्षण समितिको अध्यक्ष थिए । समितिको अध्यक्ष रहेकै अवस्थामा २०६६ फागुनको मोटरसाइकल दुर्घटनामा परी उनको निधन भएको थियो । पहारीका कवितासङ्ग्रह ‘देशको अभिभारा’, नियात्रा ‘उत्तरी गोलार्ध’मा प्रकाशित छन् ।

समाजशास्त्रमा स्नातकोत्तर रीताले पुस्तक स्व. जीवनसाथीलाई समर्पण गरेकी छिन् । पुस्तकले पतिवियोगपछि लेखकले गरेको संघर्षका साथै पारिवारिक, सामाजिक लगायत विविध पाटोलाई समेत उजागर गरेको छ । पुस्तकलाई हेमराज पहारी स्मृति प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो ।

===

५. मार्केट अफ स्वीटहार्ट – तारा भट्टराई

अमेरिकालाई कर्मभूमि बनाई नेपाली भाषा–साहित्यको उनन्वयनमा समेत सक्रिय लेखक तथा पत्रकार तारा भट्टराईको गैरआख्यान विधाको पुस्तक हो, ‘मार्केट अफ स्वीटहार्ट’ । पुस्तकले अमेरिकी, विशेषगरी न्यूयोर्क शहरको पृष्ठभूमिका देखिने यौनजीवन, यौनकुण्ठा र यौनमनोविज्ञानलाई आख्यानको स्वादमा पस्किएको छ । साथै, महिलाका संवेदना, विद्रोह तथा सशक्तीकरणका आवाजहरू भट्टराईको लेखनीको विशेषताका रूपमा देखापरेका छन् ।

भट्टराईका गैरआख्यानका आख्यानका जस्ता पात्रहरु छन्, जो स्वतन्त्र समेत छन् । उनको लेखनीका बौद्धिकता कम, चिन्तन र चेतना बढी प्रस्तुत भएका छन् । पुस्तकलाई साहित्यपोस्ट प्रकाशनमा ल्याएको हो ।