पोखरा । लेखक डा. खगराज बरालको उपन्यास ‘प्रतिरूप’ माथि पोखरामा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
पुछारसिटे अभियान पोखराले हिमालयन रिडर्स कर्नरमा आयोजना गरेको उक्त कार्यक्रममा साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता वसन्त विनोदले गर्नुभएको थियो भने लेखक डा. बराल स्वयं, प्रा.डा. रामनाथ ओझा, लेखकका पिता शोभाकर बराल, अधिवक्ता सुरेन्द्र थापा मगर, लेखक रवीन्द्र माकाजु, प्राध्यापक कालिदास शर्मा तिमिल्सिना, भेषराज बराल, ज्योतिष चन्द्रकान्त पौडेल, कवि गोविन्द बराल, खेमराज सापकोटा लगायतको सहभागिता रहेको थियो । अमृत क्षत्रीले कार्यक्रमको उद्घोष गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यकार सुरज उपाध्यायले डा. बरालको साहित्यिक व्यक्तित्वको परिचय गराउनुभएको थियो । उहाँले गैरआख्यानमा कलम चलाउने बरालको ‘प्रतिरूप’ दोस्रो उपन्यास भएको र यसअघि उहाँले ‘स्यानी’ उपन्यास प्रकाशित गरिसकेको जानकारी दिनुभयो । हालसम्म बरालका २३ वटा कृति प्रकाशित भइसकेका छन् ।
पुछारसिटे अभियानका संयोजक सञ्जीव पौडेलले ‘प्रतिरूप’ को समीक्षा गर्दै यसलाई यथार्थवादी धाराको मध्यम किसिमको उत्कृष्ट उपन्यास भन्नुभएको बताउनुभयो । उहाँले लेखकको चातुर्यका कारण उपन्यासको ओज र आकर्षण बढेको बताउनुभयो । साङ्ग्रिला प्रकाशनबाट प्रकाशित यो २ सय ३८ पृष्ठ लामो उपन्यासले स्वदेशको तराई, पहाड र परदेशको मेघालय तथा असमको परिवेशलाई जीवन्त रूपमा उतार्ने प्रयास गरेको उहाँको भनाइ छ । उपन्यासमा जन्म दिने बाबु र कर्म दिने बाबुको विषयवस्तुलाई समेटिएको छ । मातृ प्रधान समाजमा हुर्केकी नवीनकी आमाको योगदान र नवीनको उच्च शिक्षा हासिल गर्न समाजसँगको सङ्घर्षलाई कथावस्तु बनाइएको छ । हेडसर र नरेस सरको शिक्षाप्रतिको योगदान, मधेशमा कर्मचारी र मधेशी नागरिकको सङ्घर्ष, तराईको शिक्षा, स्वास्थ्य, पूर्वाधार, पहाड र तराईको तुलना, पहाडमा राजनीतिक व्यक्तित्वको प्रभाव र कर्मचारीले भोग्ने सांस्कृतिक कठिनाइ जस्ता वास्तविक जीवनका घटनालाई उपन्यासमा समेटिएको छ । पौडेलले लेखकले कथावस्तुमा विवाद हुनसक्ने पक्षहरूलाई चतुर्याइपूर्वक प्रस्तुत गरेको बताउनुभएको थियो ।
डा. रामनाथ ओझाले लेखक बरालको बहुआयामिक व्यक्तित्वलाई उजागर गर्दै उहाँलाई शिक्षाविद्, कुशल प्रशासक र साहित्यकारको रूपमा चित्रण गर्नुभयो । उहाँले बरालले सरल भाषामा लेख्ने र भुईँमान्छेको बारेमा चिन्तन गर्ने गरेको बताउनुभयो ।
लेखक डा. बरालले आफ्ना अनुभव र सुनेका कथाहरूलाई उपन्यासमा बुनेको बताउनुभयो । प्रेमको सन्दर्भमा उठान गरिएका विषयवस्तु कतिलाई चित्त नबुझ्न सक्ने भए पनि प्रेमको परिभाषालाई बुझाउन खोजेको उहाँको भनाइ छ । उहाँले उपन्यासका पात्रहरूमा सामाजिक, सांस्कृतिक र भौगोलिक विविधता झल्काउन सावधानीपूर्वक लेखेको बताउनुभयो । उहाँले उपन्यासको प्रारम्भिक लेखनपछि ७ जनालाई पढ्न दिएको र कृतिमा समावेश विषयवस्तु सचेतनापूर्वक राखिएको बताउनुभयो ।
एघार भागमा विभाजित ‘प्रतिरूप’ उपन्यास समाजका सानातिना घटनालाई जीवनसँग जोडेर बुनेको छ । उपन्यास पढ्दै जाँदा पाठकलाई कौतुहल बनाइराख्छ र अन्त्यसम्म पुग्दा मात्रै सन्देश थाहा हुन्छ । डा. बरालको जन्मघर पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दी हो उहाँ हाल लोकन्थली, भक्तपुरमा बसोबास गर्नुहुन्छ । कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई मायाको चिनोस्वरूप पुस्तक प्रदान गरिएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 




