‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०८१’ को छोटो सूचीमा एक दशकदेखि सशक्त कविता लेखनमा सक्रिय कवि आर्यशको कवितासङ्ग्रह ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’ पर्न सफल भएको छ । यो सूचीमा आफ्नो पहिलो (डेब्यु) कृतिका रूपमा काव्य लेखेका पाँच लेखक समावेश छन् ।

आर्यशका कवितामा उदासीनता, कलात्मकता, विद्रोही चेत, कोमलता, सिर्जनशील अराजकता लगायतका विविधता पाइन्छ । कवितामा कवि विसङ्गत समय, आर्थिक तथा सामाजिक बेथिति र राज्यसंयन्त्रसँग जुध्दाजुध्दा थाकित र निराश भएको देखिन्छ । कविले जीवनक्रममा भोगेका अनेकन अनुभूतिहरू कवितामा प्रस्फुटित भएका छन् जसको केन्द्रमा निरासा र उदाशिनता भेटिन्छ । पुस्तकलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो ।

छोटो सूचीमा शकुन आँसुको कवितासङ्ग्रह ‘नवयुगकी सुम्निमा’, हेमन्त शिशिरको कवितासङ्ग्रह ‘बन्द कोठाको झ्याल’, जगन्नाथ पौडेलको कवितासङ्ग्रह ‘बग्दैबग्दै’, आर्यशको कवितासङ्ग्रह ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’ र मधुसुदन घिमिरेको कवितासङ्ग्रह ‘मायाको आयतन’ रहेका छन् ।

यसअघि ०८१ सालमा प्रकाशित डेब्यु कविका साहित्यपोस्टलाई प्राप्त ४२ काव्य कृतिहरूबाट १२ कृतिको ‘लामो सूची’ सार्वजनिक गरिएको थियो । पाँच काव्य कृतिको छोटो सूची तिनै १२ कृतिहरूको मूल्याङ्कनबाट छानिएको हो ।

लामो सूचीबाट पाँच काव्यकृतिहरूको छोटो सूची साहित्यपोस्टका विधा सम्पादकसहितको निर्णायक समूहले छानेको हो । काव्य संरचना, बिम्ब र प्रतीकको प्रयोग, दृष्टिकोण निर्माण, नवीनता, सामाजिकता र समय चेत, प्रस्तुति, शीर्षकको सार्थकता लगायत काव्यका विविध आयमहरू आधार बनाई काव्यकृतिहरूको मूल्यांकन गरिएको निर्णायक समूहले जनाएको छ ।

छोटो सूचीमा पर्न सफल काव्यकृतिमध्ये उत्कृष्ट तीनको छनौट गरिने छ । उत्कृष्ट तीनमध्येबाट सर्वोत्कृष्ट कृति छनौट गरी ५० हजार राशिको ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ प्रदान गरिने छ ।

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरु लोकप्रिय छन् ।

‘साहित्यपोस्ट उत्तम गैरआख्यान र आख्यान पुरस्कार’का छोटो सूची क्रमशः जेठ २ गते (शुक्रबार) र जेठ ४ गते (आइरबार) सार्वजनिक गरिनेछ । अगामी चरणमा काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका उत्कृष्ट तीन पुस्तक (साहित्यपोस्ट नवरत्न २०८१) को घोषणा गरिने छ । तीन विधाका तीन उत्कृष्ट कृतिमध्येबाट एक-एकलाई ५०-५० हजार राशिको पुरस्कार तथा सम्मान औपचारिक समारोहको आयोजना गरी प्रदान गरिनेछ ।