
काठमाडौँ । बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका–२ मा जन्मेका दिलिप पौडेलको कथासंग्रह ‘ब्लफर्स डायरी’ को लोकार्पण गरिएको छ।
पुतलीसडकस्थित ग्रिनलिफ फुडल्याण्डमा आयोजित एक कार्यक्रममा समालोचक राजकुमार बानियाँ, लेखक विक्रमभक्त जोशी र समाजसेवी कृष्ण केसीले संयुक्त रूपमा उक्त कृतिको लोकार्पण गर्नुभएको थियो।
‘ब्लफर्स डायरी’ पौडेलको पहिलो कथाकृति हो। यसमा देश–परदेशको परिवेशका १८ वटा कथाहरू समावेश छन्। पुस्तकमाथि टिप्पणी गर्दै लेखक विक्रमभक्त जोशीले भन्नुभएको थियो, ”ब्लफर्स डायरीमा सङ्गृहीत कथाहरूले विदेशी बर्गर र नेपाली सेलरोटीको स्वाद सँगसँगै चखाउन सफल भएको छ।”
समालोचक बानियाँले कथाहरूमा अत्यन्त विविधता हुनुका साथै पाठकलाई अन्त्यसम्म कौतुहलता प्रदान गर्ने क्षमता रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ”पौडेलका कथाहरूले सामाजिक बेथिति, आप्रवासी मनोदशा, कोरोनाको महामारीले निम्त्याएको विपत्ति, प्रेम र वैवाहिक मनोदशाको सुन्दर चित्रण गरेका छन्। कथाहरू पढ्दा उनको यो पहिलो कृति हो जस्तो महसुस हुँदैन।”
अर्का वक्ता कृष्ण केसीले पौडेलका कथाहरू पढ्न सुरु गरेपछि छोड्नै मन नलाग्ने भन्दै ‘ब्लफर्स डायरी’ ले पाठकहरूको मन जित्न सफल हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो।
लेखक पौडेलले कोभिड महामारीको बेला प्रायः कथा आफ्नो घर नजिकैको ब्लफर्स पार्कमा बसेर कोरेको हुनाले कथासङ्ग्रहको नाम पनि ‘ब्लफर्स डायरी’ राखेको जानकारी गराउनुभयो । क्यानाडामा बसोबास गर्दै आउनुभएको पौडेलले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुभएको छ र एक दशकभन्दा बढी अंग्रेजी साहित्य अध्यापनको अनुभव पनि लिनुभएको छ । हाल उहाँ टोरोन्टोस्थित एक गैरसरकारी संस्थामा थेरापिस्टको रूपमा कार्यरत हुनुहुन्छ ।
राजकुमार बानियाँले सम्पादन गरेको यो कथासङ्ग्रह शिखा बुक्सबाट प्रकाशित भएको छ। यसको मूल्य ४९५ रुपैयाँ तोकिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

