
भक्तपुर । सिर्जना अभियान समाजले आयोजना गरेको लघुकथा पुस्तक मेलामा रुद्र अधिकारीको ‘मनश्चक्षु’ र पी.पी. कोइराला सम्पादित ‘वृद्धाकाशमाथि’ ले साहित्यिक वृत्तमा चर्चा पाएको छ।
भक्तपुर दरबार स्क्वायरस्थित ख्वपछें रेस्टुरेन्टमा सम्पन्न कार्यक्रममा स्रष्टा तथा साहित्यकारहरूले दुवै कृतिमाथि गहन समीक्षा प्रस्तुत गर्दै प्रशंसा गर्नुभएको थियो ।
डा. भरतकुमार भट्टराईले ‘वृद्धाकाशमाथि’ मा वृद्धावस्थाका सोच, चिन्ता र एक्लोपनलाई मार्मिक ढंगले चित्रण गरिएको बताउनुभयो । उहाँले यस कृतिले समाजलाई वृद्धप्रति सचेत गराउने र उहाँहरूको भावनात्मक पक्षलाई बुझ्न मद्दत गर्ने धारणा राख्नुभयो । साथै, उहाँले लघुकथा लेखनका अन्य सम्भावित आयामहरूमाथि पनि विचार गर्न सुझाव दिनुभयो ।
स्रष्टा मनीषकुमार शर्माले ‘मनश्चक्षु’ को समीक्षा गर्दै रुद्र अधिकारीको लेखन शैली र विषयवस्तुमा उल्लेखनीय सुधार आएको बताउनुभयो । उहाँले मानवीय संवेदनाको अवमूल्यन, सामाजिक जटिलता र पर्यावरणीय चेतना जस्ता समसामयिक विषयलाई कृतिले गम्भीरतापूर्वक उठाएको उल्लेख गर्दै प्रशंसा गर्नुभयो ।
कार्यक्रमका सभापति कथाकार ध्रुव मधिकर्मीले यस्ता आयोजना र परिचर्चाबाट लघुकथा कृतिहरू पाठकसम्म पुग्न र स्रष्टाहरूले बजार पाउन सहयोग पुग्ने धारणा राख्नुभयो । उहाँले यसले स्रष्टा र पाठकबीचको सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वागत गर्दै लघुकथाकार इन्दिरा चापागाईंले स्रष्टाहरूको मेहनत र मनोबल बढाउन यस्ता कृति विमर्शहरूले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा स्रष्टाहरू मधुवन पौडेल, हरि अधिकारी, योगेन्द्र तिमिल्सिना, हरि थापा, दिव्य गिरी, सीता पाण्डे, योगेन्द्र प्रधान, धनमान श्रेष्ठ, दीपक लोहनी, डा. पुष्कर भट्ट, रासा, विनोद खड्का, कात्यायन, अम्बिका धिताल, डा. हिमलाल श्रेष्ठ, गंगा कर्माचार्य, सुरेन्द्रलाल भुजु, जानकी रघुवंशी लगायतको उपस्थितिले कार्यक्रमलाई थप सार्थक बनाएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

