ताराबहादुर बुढाथाेकी

खाँदबारी  । सङ्खुवासभाको पाङमामा लोहोरुङ भाषा, कला र संस्कृतिको संरक्षण गर्ने उदेश्यले लोहोरुङ भाषामा रचिएको गीतको लोकार्पण भएको छ । गितमा शब्द वीरेस राईको, स्वर सूर्य नारायण श्रेष्ठको र संगीत बुलु मुकारुङको रहेको छ ।

गीतकार वीरेस राई सङ्खुवासभा साहित्यिक समाजका अध्यक्ष हुनुहुन्छ भने गायक सूर्य नारायण श्रेष्ठ पाङमाका नेवार समुदायका सदस्य हुनुहुन्छ । संगीतकार बुलु मुकारुङ नेपाली संगीत क्षेत्रका अनुभवी कलाकार हुनुहुन्छ, र उहाँको संगीतले गीतलाई थप आकर्षक बनाएको छ । सङ्खुवासभा र भोजपुरको सम्बन्धलाई प्रेमिल शैलीमा प्रस्तुत गरिएको यस गीतले मेलामा उपस्थित दर्शकहरूलाई भावुक बनाएको थियो ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका नजिकै अवस्थित पाङमा गाउँ आफ्नो अनौठो लोहोरुङ भाषा, कला र संस्कृतिको लागि परिचित छ । अरुण नदीको किनारमा रहेको यस गाउँमा गैरी पाङमा, डाँडा पाङमा, लोके पाङमा र सुनार पाङमा मिलेर एउटा अद्वितीय बस्ती बनेको छ, जसले आफ्नो मौलिक पहिचानलाई अझै जोगाइराख्न सफल भएको छ । दिदिङ, धुपु र खाँदबारी नगरपालिकामा फैलिएको लोहोरुङ समुदायको जीवनशैलीमा सरुवा, वाचिपा र छिटको कपडा जस्ता अद्वितीय पक्षहरू अझै पनि जीवित छन् ।

नेपाल भाषा आयोगबाट मान्यता प्राप्त लोहोरुङ भाषा पाङमाको मुख्य पहिचान हो । हालै प्रकाशित “देरेङ लाम्सोङ वंशावली तथा लाम्सोङ संस्कार संस्कृति” नामक पुस्तकले लोहोरुङ भाषाको समृद्धिलाई थप उजागर गरेको छ । भाषिक पर्यटनको दृष्टिकोणले पनि पाङमा गाउँलाई महत्वपूर्ण गन्तव्यको रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना देखिन्छ ।

ढाँडे मेलामा लोहोरुङ भाषाका गीतसँगै, स्थानीय प्रविधिबाट बन्ने सरुवा र छिटको फरिया पनि प्रमुख आकर्षण थिए । दुई दशक अघिदेखि नै गीतहरूमा सरुवाको चर्चा हुन थालेको छ भने छिटको फरिया किराँत महिलाले अझै पनि गर्वका साथ लगाउँछन् । यसले पाङमाको मौलिकतालाई जीवन्त राखेको छ ।

पाङमाको ढाँडे मेला लोहोरुङ जातिको संस्कृति र पहिचानको उत्कृष्ट प्रदर्शन हो । लोहोरुङ क्लब र सङ्खुवासभा साहित्यिक समाजले यो मेलाको गरिमा अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । यसलाई पर्यटन गन्तव्यको रूपमा विकास गर्ने हो भने यस क्षेत्रको आर्थिक विकासमा पनि ठूलो टेवा पुग्नेछ ।