काव्य लेखेर नेपाली साहित्यमा पदार्पण गरेका डेब्यु लेखकलाई प्रदान गरिने ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०८१’का लागि छोटो सूची जारी गरिएको छ । सूचीमा आफ्नो पहिलो कृतिका रूपमा काव्य लेखेका पाँच लेखक समावेश छन् ।

सूचीमा शकुन आँसुको कवितासङ्ग्रह ‘नवयुगकी सुम्निमा’, हेमन्त शिशिरको कवितासङ्ग्रह ‘बन्द कोठाको झ्याल’, जगन्नाथ पौडेलको कवितासङ्ग्रह ‘बग्दैबग्दै’, आर्यशको कवितासङ्ग्रह ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’ र मधुसुदन घिमिरेको कवितासङ्ग्रह ‘मायाको आयतन’ रहेका छन् ।

यसअघि ०८१ सालमा प्रकाशित डेब्यु कविका साहित्यपोस्टलाई प्राप्त ४२ काव्य कृतिहरूबाट १२ कृतिको ‘लामो सूची’ सार्वजनिक गरिएको थियो । पाँच काव्य कृतिको छोटो सूची तिनै १२ कृतिहरूको मूल्याङ्कनबाट छानिएको हो ।

यसअघि पुरस्कारको लामो सूचीमा अभिनेता तथा कवि राजवल्लभ कोइरालाको ‘औरा’, शकुन आँसुको ‘नवयुगकी सुम्निमा’, अमरदीप सुनुवारको ‘पृथ्वीको श्वेतपत्र’, हेमन्त शिशिरको ‘बन्द कोठाको झ्याल’, जगन्नाथ पौडेलको ‘बग्दाबग्दै’, आर्यशको ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’, विपिन पाठकको ‘मरुभूमिमा वासन्ती याम’, मधुसुदन घिमिरेको ‘मायाको आयतन’, डिइबी सिकारुको ‘यौवन हराएको मान्छे’, राम अधिकारीको ‘सपना र छायाहरू’, सिजन श्रेष्ठको ‘हावामा अल्झिएको स्वर’ र विवश पौडेलको गजलसङ्ग्रह ‘धर्तीको जून’ रहेका थिए ।

लामो सूचीबाट पाँच काव्यकृतिहरूको छोटो सूची साहित्यपोस्टका विधा सम्पादकसहितको निर्णायक समूहले छानेको हो । काव्य संरचना, बिम्ब र प्रतीकको प्रयोग, दृष्टिकोण निर्माण, नवीनता, सामाजिकता र समय चेत, प्रस्तुति, शीर्षकको सार्थकता लगायत काव्यका विविध आयमहरू आधार बनाई काव्यकृतिहरूको मूल्यांकन गरिएको निर्णायक समूहले जनाएको छ ।

छोटो सूचीमा पर्न सफल काव्यकृतिमध्ये उत्कृष्ट तीनको छनौट गरिने छ । उत्कृष्ट तीनमध्येबाट सर्वोत्कृष्ट कृति छनौट गरी ५० हजार राशिको ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ प्रदान गरिने छ ।

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरु लोकप्रिय छन् ।

‘साहित्यपोस्ट उत्तम गैरआख्यान र आख्यान पुरस्कार’का छोटो सूची क्रमशः जेठ २ गते (शुक्रबार) र जेठ ४ गते (आइरबार) सार्वजनिक गरिनेछ । अगामी चरणमा काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका उत्कृष्ट तीन पुस्तक (साहित्यपोस्ट नवरत्न २०८१) को घोषणा गरिने छ । तीन विधाका तीन उत्कृष्ट कृतिमध्येबाट एक-एकलाई ५०-५० हजार राशिको पुरस्कार तथा सम्मान औपचारिक समारोहको आयोजना गरी प्रदान गरिनेछ ।

छोटो सूचीमा पर्न सफल पाँच काव्यकृतिहरूः

१. नवयुगकी सुम्निमा – शकुन आँसु

सशक्त युवाकवि शकुन आँसुको कवितासङ्ग्रह हो ‘नवयुगकी सुम्निमा’ । आँसुका अधिकांश कविता आममानिसको जीवनभोगाइको जगको उभिएका छन् । कविताले लैंगिक, समाजिक तथा राजनीतिक समानता, सीमान्तकृत समुदाय तथा संस्कृतिक अस्तित्वको रक्षाको पक्षमा वकालय गरेका छन् । यस अर्थमा उनका कविताहरू भावनात्मक पृष्ठभूमिबाट उठेर विचार–मन्थनतिर अग्रसर भएका छन् ।

कवितासङ्ग्रह ‘समयको यात्रा’ र ‘सिली सिलसिला’ गरी दुई खण्डमा विभाजित छन् । तुलनात्मक रुपमा पहिलो खण्डमा सरल, मुलायम तथा प्रेमिल कविताहरू रहेका छन् भने दोस्रो खण्डका कविताहरूले विद्रोह बोलेका छन् । पुस्तकलाई इतर अभियानले प्रकाशनमा ल्याएको हो ।

२. बन्द कोठाको झ्याल – हेमन्त शिशिर

‘विश्व–ज्योति पाण्डुलिपि पुरस्कार २०८१’ प्राप्त गर्दै प्रकाशनमा आएको कृति हो ‘बन्द कोठाको झ्याल’ । कृतिका लेखक हुन् युवाकवि हेमन्त शिशिर । कृतिमा वर्तमान समाजका यथार्थ, सङ्घर्ष तथा उज्यालाहरू बिम्बित भएका छन् । शिशिरका कविता अन्यायविरुद्ध प्रतिरोध तथा दलनविरुद्ध विद्रोहका साथमा मौलिक सौन्दर्य लिएर उभिएका छन् ।

कविले गहिरो अध्ययनबाट निर्मित चेतनाको प्रयोग गरी गहन बिम्बबाट प्रश्न गर्दै पाठकहरूबाट समेत उस्तै अपेक्षा राखेका छन् । पुस्तकलाई साङ्ग्रीला बुक्सले प्रकाशनमा ल्याएको हो ।

३. बग्दैबग्दै – जगन्नाथ पौडेल

अमेरिका निवासी डायस्पोरिक कवि जगन्नाथ पौडेलको कवितासङ्ग्रह हो ‘बग्दैबग्दै’ । सूक्तिमय शब्दसंयोजना रहेका कविताले भरिएको कृतिमा बिम्ब तथा सङ्केतहरूको भरपुर प्रयोग पाइन्छ । कृति अनुभूति तथा संवेदनाको काव्यिक संयोजनको रुपमा उभिएको छ । डायस्पोरिक जीवन, जडताग्रस्त समय, मानवीय सन्ताप, आत्मनिर्णयको अधिकार, संस्कारित सीमा, क्षयग्रस्त पर्यावरण, इतिहासका गति र विकासहरू पौडेलका कविताका विषयमूल्य हुन् ।

कृतिका कविताहरूको विषय र विशेषताका आधारमा ‘हाँगा’, ‘पात’, ‘फल’, ‘सेउला’, ‘रुख’ र ‘जरा’ गरी छ भागमा विभाजन गरिएको छ । पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो ।

४. म तिमी आउनुअघि नै गइसकेको थिएँ – आर्यश

एक दशकदेखि सशक्त कविता लेखनमा सक्रिय छन् कवि आर्यश । उनै आर्यशको पहिलो कृतिको कवितासङ्ग्रह ‘म तिमी आउनुअघि नै गइसकेको थिएँ’ । उनका कवितामा उदासीनता, कलात्मकता, विद्रोही चेत, कोमलता, सिर्जनशील अराजकता लगायतका विविधता पाइन्छ । कवितामा कवि विसङ्गत समय, आर्थिक तथा सामाजिक बेथिति र राज्यसंयन्त्रसँग जुध्दाजुध्दा थाकित र निराश भएको देखिन्छ ।

कविले जीवनक्रममा भोगेका अनेकन अनुभूतिहरू कवितामा प्रस्फुटित भएका छन् जसको केन्द्रमा निरासा र उदाशिनता भेटिन्छ । पुस्तकलाई इन्डिगो इन्कले प्रकाशनमा ल्याएको हो ।

५. मायाको आयतन – मधुसुदन घिमिरे

‘मायाको आयतन’ मनो–सामाजिक विमर्शकर्ता युवा मधुसुदन घिमिरेको कवितासङ्ग्रह हो । सङ्ग्रहमा प्रेम सम्बन्धका विविध आयमहरूमाथि लेखिएका छोटा आयतनका कविताहरूको बाहुल्यता रहेको छ । साथै, समाजिक समस्या, देश तथा युवाहरूको वर्तमान अवस्था लगायत विषयहरूलाई समेत कविताहरूले प्रतिनिधित्व गरेका छन् ।

सङ्ग्रमा रहेका कविताहरूसँगै चित्रसमेत रहेका छन् जसले अमूर्त रूपमा कवितालाई दृश्य प्रदान गरेका छन् । पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो ।