
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोटमा सञ्चालित पठन संस्कृति अभियान अन्तर्गत डा. मतिप्रसाद ढकालका छ वटा पुस्तक एकैसाथ विमोचित भएका छन् ।
अभियानको १३ औँ शृङ्खलामा प्राध्यापक एवम् राजनीतिक विश्लेषक कृष्ण खनाल र गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले संयुक्त रूपमा यी पुस्तकहरूको विमोचन गर्नुभएको हो ।
विमोचित पुस्तकहरूमा ‘पूर्वीय यौनशिक्षा’, ‘ढकालवंशीय कुलपूजाविधि’, ‘गीतामा के छ ? (दोस्रो संस्करण)’, र ‘पाणिनीय व्याकरणका अनुसन्धानको समीक्षा (भाग १, २, ३)’ समावेश छन् । विशेषगरी ‘पाणिनीय व्याकरणका अनुसन्धानको समीक्षा’ तीन खण्डमा विभाजित छ जसमा नेपाल र भारतका विभिन्न विश्वविद्यालयहरूमा स्नातकोत्तर तथा विद्यावारिधिस्तरीय तहमा गरिएका पाणिनीय व्याकरण सम्बन्धी शोधप्रबन्धहरूको समीक्षात्मक अध्ययन र सन्दर्भविवरण समेटिएको छ ।
२०८१ सालमा प्रकाशित यी छ वटा कृतिमध्ये ‘पूर्वीय यौनशिक्षा’ मा वात्स्यायन प्रणीत कामसूत्रसँग सम्बन्धित ३५ वटा निबन्धहरू सङ्कलित छन् । ‘ढकालवंशीय कुलपूजाविधि’ मा उपमन्युगोत्रीय ढकाल वंशको कुलपूजा विधि सरल नेपाली भाषामा वर्णन गरिएको छ । ‘गीतामा के छ ?’ मा श्रीमद्भगवद्गीताका १८ अध्यायका विषयवस्तुलाई सारांशित गर्दै १८ वटा निबन्धहरू समावेश गरिएका छन् ।
डा. ढकाल बहुआयामिक लेखक, अनुसन्धानकर्ता तथा संस्कृतविद् हुनुहुन्छ । उहाँको योगदान शिक्षा क्षेत्र र नेपाली अध्यात्म दर्शनमा उल्लेखनीय रहेको बताइएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

