प्रवासी प्रवाहको १९ औँ शृंखलामा मुक्तक विशेष
गएको असोज ४ गते प्रवासी प्रवाहको १९ औँ शृंखला सम्पन्न भयो । यो शृंखला मुक्तक विशेष थियो ।
लाला बाला त्यागेर मुग्लान पस्नेलाई त्यागी भन्ने कि नभन्ने, पसिनासँग साटेका डलरलाई योगदान भन्ने कि नभन्ने, परिवार मात्रै हैन उसको रेमिटेन्सले देश नै चलेको बेला मृत्यवरण गरी बाकसमा फर्की आउनेलाई सहिद मान्ने कि नमान्ने, संसारभरका प्रवासीहरुलाई उनीहरुकै पीडा सुनाए, वरिष्ठ मुक्तककार एवं नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले यो आइतबार ।
एनआरएनएको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको अनलाइन श्रृङखलामा प्रवासका पीडा, देशको अवस्था, कोराना कहर र मायाप्रीतिका कुरा लगातार मुक्तकमा बगिरहे ।
यस पटकको मुक्तक विशेषमा कोरियाबाट रामचन्द्र शर्मा, अमेरिकाबाट आनन्द श्रेष्ठ, कतारबाट स्वतन्त्र नेपाल, रोमानियाबाट युवराज लामिछाने र इजरायलबाट सुचित्रा खनियाले सहभागिता थियो ।
बीचमा मुक्तकमै मिठास भर्दै रहे संचालकहरु नृपेश उप्रेतीले लन्डनबाट र भगवती बस्नेतले काठमाडौंबाट । चोटिलो पोटिलो मुक्तक विधा नेपाली साहित्यमा लोकप्रिय र विश्वव्यापी हुँदै गएकोमा आफू मक्ख परेको अनुभव सुनाउदै कोनेले अन्त्यमा भने, ‘धन्यवाद एनआरएनए र प्रवासी प्रवाह ! नेपाली साहित्यको सुगन्ध संसारभर फैलिदै गरोस् ।’
यस कार्यक्रमलाई एनआरएन साहित्यको फेसबुकबाट लाइभसमेत गरिएको थियो । यस कार्यक्रमलाई यो ठेगानामा पुनः सुन्न सकिन्छ ।
https://www.facebook.com/113289480362194/videos/647355272582883/



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

