काठमाडौँ । बुद्ध जयन्तीको अवसरमा काठमाडौँको कोटेश्वर बहुमुखी क्याम्पस, जडिबुटीमा आयोजित ‘समकालीन नेपाली कविताका स्वरहरू’ शीर्षकको कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

वर्तमान कविता समूह र शब्दाङ्कुर मासिकको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा २४ जना कविहरूले आ–आफ्ना सशक्त र भावुक कविताहरू वाचन गर्नुभएको थियो ।

रमी प्रियाले सञ्चालन गरेको कार्यक्रममा वाचन गरिएका कविताहरू शान्ति, अहिंसा, समकालीन राजनीतिप्रति व्यङ्ग्य, वातावरणीय चेतना र मानवीय मूल्यहरूमा केन्द्रित थिए । रजनी मिलाको ‘प्रेमबीच’, सोझो गाउँलेको ‘मान्छेलाई मर्ने सुविधा पनि छैन’ र कृष्ण बाउसेको ‘हित बुद्ध जायते’ (अहिंसामा आधारित) जस्ता कविताहरूले श्रोताहरूलाई भावुक बनाएको थियो । विश्व सिग्देलको राजनीतिक व्यङ्ग्य कविता ‘जोकर जब तानाशाह बन्छ’ ले विशेष प्रशंसा पाएको थियो ।

चन्द्रबहादुर लामाको ‘युद्ध र शान्तिको बीच’, राजेन्द्रप्रसाद अधिकारीको ‘मृत्यु एक भ्रम, एक कथा’, दीपक सापकोटाको ‘मान्छे हुनुको दोष’ र धन्वन्तरी मिश्र ‘कात्यायन’को ‘ककारोको फूल’ जस्ता कविताहरूले मानव अस्तित्व, प्रकृति र समाजसँगको जटिल सम्बन्धलाई उजागर गरेको थियो । लीलाराज दाहालको ‘घाउ’ र अमर आकाशको ‘रुखको हाँगा पनि नकाट्नुहोस्’ ले तीव्र सामाजिक व्यङ्ग्य प्रस्तुत गरेको थियो भने दीपक लोहनीको ‘दुःखको आँसु’ र केशव ज्ञवाली ‘आगत’को ‘मौन वृक्ष’ ले दुःख, मौनता र मानवीय ढोङको गहिरो चित्रण प्रस्तुत गरेको थियो ।

तीर्थराज भट्टको ‘बुद्धको छायाँसँग’, सुनिल पुरीको ‘अपील’ र सेदुनाथ ढकालको ‘कहाँ हरायो बुद्ध’ ले शान्तिको खोजीलाई भावनात्मक रूपमा प्रस्तुत गरेको थियो । हिसिलिना शाक्यको ‘चेतावनी’ र रहेना नकर्मी मानन्धरको ‘शान्तिको आँसु’ ले सामाजिक जागरण र समर्पणको सन्देश दिएको छ । सुबाससिंह पराजुलीको अङ्ग्रेजी र रमी प्रियाको नेपालीमा वाचन गरिएको ‘ओम् मणि पद्मे हुँ’ ले बुद्धको शान्तिलाई आह्वान गरेको थियो । एन्जल नीलुले मैथिलीमा कविता वाचन गर्दै भाषिक विविधतालाई समेट्नु भयो भने केशव भट्टराईको गजलले श्रोतालाई मन्त्रमुग्ध बनाएको थियो । धीर कुमार श्रेष्ठको ‘पवित्र क्रान्ति’ ले वातावरणीय चेतना फैलायो भने राधा कार्कीले पनि सारगर्भित कविता प्रस्तुत गर्नुभएको थियो ।

मन्तव्यरहित कार्यक्रम एक घण्टामा सम्पन्न भएको थियो । कार्यक्रमले बुद्धको शान्ति र अहिंसासँगै समकालीन नेपाली कविताको विविधता र भावनात्मक स्वरहरूलाई पनि प्रस्तुत गर्दै शान्ति, करुणा र सामाजिक न्यायप्रतिको सामूहिक चाहनालाई उजागर गरेको थियो ।