काठमाडौं । कालिकास्थानस्थित नेपालयको आरशालामा लेखक जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’ को लोकार्पण गरिएको छ।

नेपालयले आयोजना गरेको दुई दिने पुस्तक मेलाको उद्घाटन समारोहका रूपमा यो पुस्तक लोकार्पण गरिएको थियो ।

कार्यक्रममा लेखक प्रसाईंले आफ्नो नयाँ कृति लेख्नुको पछाडि रहेको प्रेरणाबारे प्रकाश पार्नुभएको थियो । उहाँले आजका मानिसको व्यस्त जीवनशैली, निराशा, एक्लोपन र उदासीलाई आफ्नो लेखनको विषयवस्तु बनाएको बताउनुभयो । ”मेरो जीवन, मेरो लेखन पनि जीवनकै वरिपरि घुमेको छ,” प्रसाईंले भन्नुभयो, ”जीवन वरदान हो, तर हामीले जीवनलाई नचाहिँदो तनाव बोकाएका छौँ ।” उहाँले हालसालै चर्चामा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सन्दर्भ उल्लेख गर्दै भावनात्मक बुद्धिमता (ईआई) को महत्व पनि उजागर गर्नुभयो । ”भावनात्मक बुद्धिमताविना समूहमा कार्य गर्न, सामाजिक हुन गाह्रो हुन्छ,” उहाँले थप्नुभयो ।

लोकार्पण कार्यक्रममा प्रसाईंले आफ्नो दश वर्षे लेखन यात्राको अनुभव पनि सुनाउनुभयो । उहाँको दश वर्ष पहिले नेपालयबाटै प्रकाशित पुस्तक ‘जीवन जिउने काइदा’ पाठकहरूमाझ अत्यधिक लोकप्रिय भएको र हालै यसको नवौं पुनःमुद्रण भएको नेपालयले जानकारी दिएको छ । ‘सधैँ तन्नेरी’, ‘वरिपरि नै सर्वोपरि’, ‘धेरैको धपेडी’ जस्ता अन्य कृतिहरू पनि नेपालयबाटै प्रकाशित छन् । साहित्यकार तथा समीक्षक अनिता कोइरालालाई लेखकले पुस्तक उपहार दिँदै लोकार्पण समारोह सम्पन्न गर्नुभएको थियो ।

नेपालयका सम्पादक विमल आचार्यले जीवनकुमार प्रसाईंलाई फुल टाइम लेखन गर्नेहरूका लागि चुनौती र प्रेरणा दुवैको स्रोत भएको बताउनुभयो । उहाँले प्रसाईंको लेखनशैलीलाई वैज्ञानिक सन्दर्भ र उद्धरणसहित सजिलो र रसिलो भाषामा प्रस्तुत गर्ने क्षमताको प्रशंसा गर्नुभयो ।