
सर्लाही । लालबन्दी नगर वाङ्मय परिषद्को दोस्रो अधिवेशन आगामी जेठ १० गते शनिबार लालबन्दीमा हुने भएको छ।
परिषद्को आज बसेको बैठकले अधिवेशनको मिति तय गरेको हो। यस अधिवेशनले परिषद्को नयाँ कार्य समिति चयन गर्नेछ।
परिषद्का अध्यक्ष अच्युत अधिकारीका अनुसार, शिक्षकको काठमाडौँ केन्द्रित २९ दिने सडक आन्दोलन र लालबन्दी नगरपालिकाभित्रको शिक्षक दरबन्दी मिलान, सरुवा तथा व्यवस्थापनका कारण परिषद्लाई प्रत्यक्ष तथा परोक्ष रूपमा असर परेकोले समयमा अधिवेशन हुन नसकेको हो। उहाँले यी कारणले कार्यक्रममा केही ढिलाइ भएको बताउनुभयो।
परिषद्को वर्तमान कार्य समितिको कार्यकाल वि.सं. २०८१ चैत्र १४ गते सकिएको थियो। भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणका लागि वि.सं. २०७७ चैत्र १४ गते ‘लालबन्दी नगर वाङ्मय परिषद् ऐन, २०७७’ बमोजिम स्थापित यस एकेडेमिक संस्थाले आफ्नो दोस्रो अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नेछ। आगामी अधिवेशनले परिषद्को भावी कार्यदिशा र योजनालाई पनि स्पष्ट पार्ने अपेक्षा गरिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

