काठमाडौं । कृषि तथा पशु क्षेत्रमा कार्यरत प्राविधिकहरूको साहित्यिक प्रतिभालाई खोजी, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ‘साहित्यमा कृषि प्राविधिक’ नामक समूहको गठन भएको छ।
साहित्यिक रुचि र सिर्जनात्मक क्षमताले सम्पन्न कृषि प्राविधिकहरूलाई एकीकृत गर्दै उहाँहरूको साहित्यिक अभिव्यक्तिका लागि एउटा औपचारिक मञ्च निर्माण गर्ने लक्ष्य राखिएको यस समूहले आफ्नो गतिविधि सुरु गरिसकेको छ।
भेटेरिनरी चिकित्सक डा. अमर शाहको अध्यक्षतामा गठित तदर्थ समितिले आगामी दिनमा समूहको कार्ययोजना तयार पार्नेछ। समितिको सचिवमा डा. नवराज श्रेष्ठ रहनुभएको छ भने सदस्यहरूमा डा. भुवनेश्वर शर्मा, श्री रामेश्वर सिङ पाण्डे, डा. लोकनाथ पौडेल, डा. प्रदीप चन्द्र भट्टराई र डा. अनिल रेग्मी रहनुभएको छ ।
समूहका संयोजकहरूले साहित्यमा रुचि राख्ने सम्पूर्ण कृषि प्राविधिकहरूलाई यस अभियानमा सक्रिय सहभागिता जनाउन आह्वान गर्नुभएको छ । ”साहित्य र प्राविधिक ज्ञानको समागमले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ,” समूहका अध्यक्ष डा. शाहले भन्नुभयो । उहाँले कृषि क्षेत्रमा कार्यरत प्राविधिकहरूमा लुकेर रहेको साहित्यिक प्रतिभालाई बाहिर ल्याउन र उनीहरूलाई एउटा साझा मञ्च प्रदान गर्न यो समूहले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यस समूहको गठनले कृषि क्षेत्रमा मात्र नभई समग्र नेपाली साहित्य जगतमा पनि नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। साहित्य र विज्ञानको यस अनौठो संगमले समाजलाई नयाँ दृष्टिकोण र ज्ञान प्रदान गर्ने विश्वास लिइएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ पुष २०८२, मंगलवार 





