काठमाडौँ । प्रकाशन संस्था नेपालयले आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा दुई दिने विशेष पुस्तक मेला आयोजना गर्ने भएको छ।

वैशाख २७ र २८ गते (शनिबार र आइतबार) कालिकास्थानस्थित आफ्नै कार्यालयमा आयोजना हुने यस मेलाले पाठकहरूलाई ६०% सम्मको आकर्षक छुटमा पुस्तक खरिद गर्ने र आफ्ना मनपर्ने लेखकहरूसँग प्रत्यक्ष भेटघाट गर्ने अद्वितीय अवसर प्रदान गर्नेछ ।

नेपालयका प्रमुख कार्यकारी अधिकृत सैजन मास्केका अनुसार, २० वर्षदेखि पाठकहरूको अगाध माया र समर्थनले सम्मानित नेपालयले यो मेलामार्फत पाठकहरूलाई एउटा अविस्मरणीय अनुभव प्रदान गर्न चाहेको छ। “हाम्रो पहिलो कृति ‘पल्पसा क्याफे’ ले पाठक वर्गबाट अपार माया पायो,” मास्केले भन्नुभयो, “त्यसैले २० वर्षको सफल यात्राको सम्मानमा यो विशेष मेला आयोजना गरिएको हो।”

मेलमा ३० भन्दा बढी नेपालयका चर्चित लेखकहरूको उपस्थिति रहनेछ। अच्युतकृष्ण खरेल, अरुणा उप्रेती, आनी छोइङ डोल्मा, आभास, कालीप्रसाद रिजाल, किशोर थापा, कुमार नगरकोटी, गणेशप्रसाद लाठ, गिरीश गिरी, जीवनकुमार प्रसाईं, जेबी दर्लामी, तारानिधि भट्टराई, तुलसी भट्टराई, दिनेश अधिकारी, दुर्गा कार्की, नारायण वाग्ले, निमानन्द रिजाल, पद्मसुन्दर जोशी, महेशराज पन्त, लुज माथेमा, विप्लव प्रतीक, श्रवण मुकारुङ, सुदीप श्रेष्ठ लगायतका लेखकहरूसँग प्रत्यक्ष कुराकानी गर्ने र आफ्ना मनपर्ने पुस्तकमा हस्ताक्षर गराउने अवसर पाठकहरूले पाउनुहुनेछ । लेखकसँगको भेटघाट निःशुल्क हुनेछ भने पुस्तकहरूमा ६०% सम्म छुटको व्यवस्था गरिएको नेपालयले जनाएको छ।

मेलाको उद्घाटन शनिबार बिहान ९ बजे जीवनकुमार प्रसाईंको पाँचौँ कृति ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’ को लोकार्पणबाट गरिनेछ। प्रसाईंको यो नयाँ कृति इमोसनल इन्टेलिजेन्समा केन्द्रित छ। ”एआईको युगमा म इआईतिर लागेको छु,’ प्रसाईंले बताउनुभयो, “१० वर्षमा पाँच पुस्तक लेख्ने जाँगर मलाई असीमित पाठकहरूको प्रेमपूर्ण पठनले नै दिएको हो।”

मेलाको समापनमा नेपालयद्वारा सञ्चालित ई–कविता कार्यक्रम अन्तर्गत १५ जना कविहरूले आफ्ना रचनाहरू वाचन गर्नुहुनेछ । कवि श्रवण मुकारुङले संयोजन गर्ने यस काव्य अनुष्ठानमा अग्रज र युवा पुस्ताका कविहरूको सहभागिता रहनेछ। मुकारुङले नेपालयले कविहरूलाई ई–कविता र काव्य कृति प्रकाशनमा गरेको सहयोगको प्रशंसा गर्दै यसलाई कविहरूका लागि ठूलो हौसला भएको बताउनुभएको छ ।

नेपालयले २०२५ मा गरेको ‘२०२५ मा २५ का २५’ शीर्षकको युवा लेखकहरूको लागि खुला रचना आह्वानबाट प्राप्त रचनाहरू र त्यस सम्बन्धी जिज्ञासाहरूलाई पनि मेलामा सम्बोधन गरिने नेपालयका सम्पादक विमल आचार्यले बताउनुभयो । आचार्यले काठमाडौँमा पुस्तक मेलाको आवश्यकता र पुस्तक बजारलाई पुनः चलायमान बनाउने प्रयासबारे आफ्नो धारणा राख्नुभएको छ ।

नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठले २० वर्ष अघि ‘पल्पसा क्याफे’ प्रकाशन गर्दा पुस्तक प्याकेजिङ र प्रवद्र्धनमा गरिएका नयाँ प्रयासहरूको स्मरण गर्दै, महिनामा एउटा किताब प्रकाशन, कालिकास्थानमा पुस्तक पसल सञ्चालन, पुस्तक मेला, युवाहरूबाट खुला रचना आह्वान जस्ता गतिविधिहरूलाई बढाउने योजना सुनाउनुभएको छ । उहाँले देशभर साहित्य महोत्सव भए पनि लेखक, पाठक र समीक्षकहरूको बढी सहभागिता हुनुपर्ने धारणा राख्नुभएको छ ।

नेपालयले दुई दिने पुस्तक मेलाले लेखक, पाठक र समीक्षकहरूमा नयाँ उत्साह थप्ने र यसको सफलतासँगै यस्ता गतिविधिहरूलाई अझै बढाउँदै लगिने विश्वास व्यक्त गरेको छ।