काठमाडौँ । राष्ट्रिय दैनिक गोरखापत्रको १२५ औँ वर्ष प्रवेश तथा संस्थानको ६३ औँ वार्षिकोत्सवको अवसरमा पाँच जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ। नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठान शाखाले पुरस्कार विजेताहरूको नाम सार्वजनिक गरेको हो।

पत्रकार तथा साहित्यकार विजयकुमार चालिसे ‘रामचन्द्र–इन्दु पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित हुनुहुने भएको छ । उहाँलाई पाँच लाख रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिनेछ। २००८ सालमा जन्मिएका चालिसेले २०३७ सालदेखि गोरखापत्रमा सेवा गर्दै प्रधानसम्पादक सम्मको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षको भूमिका पनि निभाउनुभएको थियो । चालिसेको लामो समयको पत्रकारिता यात्रा र योगदानलाई पुरस्कारले सम्मान गर्नेछ।

युवामञ्च मासिकका सम्पादक उमेश ओझा ‘गोरखापत्र पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित हुँनुहुदैछ । उहाँलाई दश हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिनेछ। यसैगरी, दि राइजिङ नेपालकी विनु श्रेष्ठ र गोरखापत्र अनलाइन डटकमकी सपना थामी ‘गोरखापत्र क्रियाशील पत्रकारिता पुरस्कार–२०८२’ बाट पुरस्कृत हुनुहुनेछ।

गोरखापत्र दैनिकका भेषराज बेल्वासे र प्रुफरिडिङ शाखाका तीर्थराज अधिकारी ‘सुमन भोम्जन स्मृति पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित हुनुहुनेछ। उहाँहरूलाई पाँच हजार पाँच सय पचपन्न रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिनेछ।

यी पुरस्कारहरू गोरखापत्रको १२५ औँ वर्षगाँठ तथा संस्थानको ६३ औँ वार्षिकोत्सव समारोहमा प्रदान गरिनेछ। यी पुरस्कारहरूले पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने पत्रकारहरूलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।