काठमाडौं । वामपन्थी नेता तथा चर्चित साहित्यकार प्रदीप नेपालको निधन भएको छ।

काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा आज उहाँको निधन भएको अस्पतालले पुष्टि गरेको छ। नर्भिक अस्पतालका सीईओ अजय मिश्रका अनुसार लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित नेता नेपाललाई पछिल्लो समय निमोनियाको समस्या पनि देखिएको थियो। उहाँ अस्पतालको आईसीयूमा उपचाररत हुनुहुन्थ्यो।

नेपाल २०५१ सालमा नेकपा (एमाले) ले अल्पमतको सरकारको नेतृत्व गरेका बेला सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । एमालेको नवौँ महाधिवेशनसम्म राजनीतिक रुपमा सक्रिय नेता नेपाल पछिल्ला वर्षहरूमा भने राजनीतिक दृश्यबाट लगभग ओझेलमा हुनुहुन्थ्यो । पार्टीका विभिन्न भेला तथा बैठकहरूमा उहाँ अनुपस्थित रहँदै आउनुभएको थियो। नेकपा एकतापछि उहाँलाई पार्टीले केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी दिए पनि, उहाँ केन्द्रीय कमिटीको बैठकहरूमा समेत सहभागी हुन सक्नुभएको थिएन।

राजनीतिसँगै साहित्यमा पनि उल्लेखनीय योगदान दिनुभएको नेपालको निधनले नेपाली राजनीति र साहित्य जगत्मा शोकको लहर छाएको छ। उहाँको निधनको खबरले हजारौं शुभचिन्तकहरू स्तब्ध हुनुभएको छ । उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न र अन्त्येष्टि गर्ने कार्यक्रमबारे परिवारले छिट्टै जानकारी गराउने बताइएको छ।