रोल्पा । रोल्पाका युवा कवि समीप बैरागीको कविता संग्रह ‘साहीमासा’ को गृहविमोचन समारोह यहीँ बैशाख १७ गते रोल्पा नगरपालिका, लिबाङमा सम्पन्न भएको छ।
सहिद स्मृति साहित्य प्रतिष्ठान रोल्पाले आयोजना गरेको उक्त कार्यक्रममा कविता क्षेत्रका व्यक्तित्वहरू र स्थानीय साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि कवि डी.बी. टुहुरोले मगर खाम भाषामा लेखिएको यस कृतिले नेपाली कविता क्षेत्रमा नयाँ आयाम थपेको बताउनुभयो । उहाँले कवि बैरागीको साहित्यिक यात्रालाई प्रशंसा गर्दै यस कृतिले रोल्पाको साहित्यिक परिदृश्यमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
अन्य वक्ताहरूमा कवि चन्द्र जी.एम., कवि भगवती बुढा मगर, र कवि डी.बी. मगर ‘स्वेद’ रहनुभएको थियो । उनीहरूले ‘साहीमासा’ को सकारात्मक तथा नकारात्मक पक्षहरूको विस्तृत विश्लेषण गर्दै रोल्पाले अब राष्ट्रिय साहित्यिक क्षेत्रमा आफ्नो उपस्थिति जनाएको बताउनुभएको थियो। कवि डी.बी. मगर ‘स्वेद’ ले कवि बैरागीको व्यक्तित्व र साहित्यिक यात्राबारे प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा रोल्पा जिल्ला समन्वय समितिका उपप्रमुख कर्मलाल परियार, पत्रकार खेम बुढा मगर, पत्रकार काशीराम डाँगी, पत्रकार नवीन लोचन मगर, पत्रकार महेश न्यौपाने, साहित्यकार चन्द्रज्योति सुवेदी, साहित्यकार कृष्णप्रसाद न्यौपाने, पत्रकार खुविना सुनारी मगर, पत्रकार देवी गुरुङ, रेडियो मालश्री, रेडियो जलजला र रेडियो रोल्पाका प्रतिनिधिहरू लगायत कवि, लेखक तथा कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
कवि बैरागीले आफ्नो मन्तव्यमा रोल्पाको गलत भाष्यलाई चिर्न कवि तथा लेखकहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको थियो । पत्रकार खेम बुढा मगरले शुभकामना मन्तव्य दिंदै कृतिको सफलताको कामना गर्नुभएको थियो । कार्यक्रममा नवीन लोचन मगर, देवी गुरुङ, सम्फा घर्ती र संकर मगरले ‘साहीमासा’ बाट कविता वाचन गरेर कार्यक्रमलाई थप आकर्षक बनाउनुभएको थियो ।
गजलकार आभाष बेसहाराको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन गजलकार हीमा खड्का ‘मनसुन’ ले गर्नुभएकी थिइन् भने स्वागत मन्तव्य संस्थाका सल्लाहकार तथा कवि गीता निर्दोषीले दिनुभएकी थिइन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२४ कार्तिक २०८२, सोमबार 







