
काठमाडौँ । उज्यालो भविष्य संस्था, दोलखाको दशौँ वार्षिकोत्सव कार्यक्रममा कवि तथा निबन्धकार श्रीबाबु कार्की ‘राष्ट्रिय साहित्य सम्मान २०८२’ बाट सम्मानित हुनुभएको छ।
नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय प्रदीप पौडेलको प्रमुख आतिथ्य र उज्यालो भविष्य संस्था, दोलखाका अध्यक्ष श्री राजन बस्नेतको अध्यक्षतामा काठमाडौंको नयाँ वानेश्वरस्थित आनन्दभूमि इभेन्टमा सम्पन्न उक्त कार्यक्रममा कार्कीलाई यो सम्मान प्रदान गरिएको हो।
सम्मानपत्रमा उल्लेख भए अनुसार, पचासको दशकदेखि आधुनिक नेपाली कविता र निबन्धमा प्रयोगात्मक र प्रतीकात्मक शैलीबाट निरन्तर योगदान पुर्याउँदै आउनुभएको कार्कीको मानवीय संवेदना, युगबोध र जीवन दर्शनलाई कलात्मक शिल्पका साथ अभिव्यक्त गर्ने क्षमताको उच्च मूल्याङ्कन गरिएको छ।
कार्कीसँगै दोलखा जिल्लामा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त विभिन्न क्षेत्रका अन्य विशिष्ट व्यक्तिहरूलाई पनि सम्मान गरिएको थियो। विश्व साइकल यात्री पुष्कर शाह, पत्रकार रोहित भन्डारी, कलाकार तथा समाजसेवी माया थामी, समाजसेवी विनयजंग बस्नेत, जनप्रतिनिधि पेमाबहादुर तमाङ, जनप्रतिनिधि राम बस्नेत, शिक्षासेवी ध्रुवबहादुर खड्का, समाजसेवी भरतबहादुर पाण्डे, समाजसेवी दिलिप बस्न्यात र कृषि वैज्ञानिक जगतबहादुर श्रेष्ठ लगायत यस सम्मानबाट विभूषित हुनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य माननीय घनश्याम रिजाल, नेता अजयबाबु शिवाकोटी र रुद्रबहादुर खड्का लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

