
मोरङ । मोरङको सुन्दरहरैँचामा आउँदो वैशाख २७ गते शनिवार वृहत् गजल महफिल हुने भएको छ।
सुन्दरहरैँचा राइडर्स महफिलको आयोजनामा हुन लागेको यस महफिलमा गजल वाचन, स्रष्टा सम्मान तथा खण्डकाव्य लोकार्पण समेत गरिने भएको छ।
सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजना हुने उक्त कार्यक्रममा स्थानीय छन्दकवि सोमप्रसाद भट्टराईद्वारा लिखित खण्डकाव्य ‘अतीतदर्पण’ को लोकार्पण गरिनेछ। कार्यक्रममा देशका विभिन्न जिल्लाबाट ख्यातिप्राप्त गजलकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
नेपाली भाषा साहित्यको जगेर्ना गर्ने उद्देश्यले स्थापित राइडर्स महफिलले २०७७ सालदेखि निरन्तर गजल महफिलको आयोजना गर्दै आएको छ। यो महफिलको सातौँ शृङ्खला भएको महफिलका संयोजक यादव भट्टराईले जानकारी दिनुभएको छ।
यसपटकको महफिलमा काठमाडौँबाट रूपक वनवासी, झापाबाट रश्मि असफल, मोरङबाट टीका खड्का राष्ट्रप्रेमी र सुनसरीबाट सुमन रेग्मीले आफ्ना गजलहरू प्रस्तुत गर्नुहुनेछ । राष्ट्रिय स्तरका गजलकारहरूको सहभागिताले यस महफिललाई थप रोमाञ्चक र सार्थक बनाउने अपेक्षा गरिएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

