काठमाडौं । साहित्यकार बीएन जोशीको संस्मरण कृति ‘श्रमाटन’ माथि आयोजित ‘श्रमाटनः संवाद’ कार्यक्रम सम्पन्न भएको छ।
राजधानीमा यासा समूहद्वारा आयोजित कार्यक्रममा लेखक जोशीको कृतिले नेपाली युवाहरूको वैदेशिक रोजगारीको कठोर यथार्थलाई मार्मिक ढंगले उजागर गरेको विषयमा छलफल भएको छ।
कवि तथा लेखिका शकुन्तला जोशीले तीन दशक अघिको कष्टकर यात्राको यथार्थ चित्रणलाई पुस्तकले जीवन्त रूपमा प्रस्तुत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ”हिजोआज मलेसिया जान सजिलो छ, तर तीन दशक अघि त्यहाँ पुग्न बीएन जोशीले ज्यानै जोखिममा राख्नुपरेको थियो। मलेसिया लगायत खाडी मुलुकमा भोगिएको कष्ट र मार्मिक अनुभवलाई ‘श्रमाटन’ ले समेटेको छ। यसले मलाई ‘लाइफ अफ पाई’ को झझल्को दियो।”
टिप्पणीकार अभय श्रेष्ठले ‘श्रमाटन’ लाई नेपाली युवाहरूको साझा जीवन अनुभवको प्रामाणिक दस्तावेज भएको बताउनुभयो । उहाँका अनुसार, ”पुस्तकमा वैदेशिक रोजगारीका लागि मलेसिया जाँदा जोशीले भोगेका हण्डर र ठक्करको फेहरिस्त छ। यो उनको व्यक्तिगत अनुभवको सङ्गालो भए पनि यसले आम नेपाली युवाको साझा भोगाइलाई प्रतिनिधित्व गर्दछ।” उहाँले पुस्तक आद्योपान्त पठनीय रहेको धारणा राख्नुभयो।
समीक्षक राजकुमार बानियाँले वैदेशिक रोजगारीको सिलसिला नरोकिएसम्म ‘श्रमाटन’ को सान्दर्भिकता कायम रहने बताउनुभयो भने समीक्षक कुमारी लामाले पुस्तकमा दुःख र कष्ट मात्र नभई रमाइला प्रसङ्ग पनि समेटिएको औँल्याउनुभयो। कार्यक्रममा लेखक जोशीसँगै बैंकर डा. बुद्धि मल्ल, शैलेन्द्र अधिकारी, अमृत भादगाउँले, जगदीश भेटवाल लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो ।
नेपाली श्रमिक युवाको कारुणिक भोगाइको जीवन्त प्रस्तुति रहेको ‘श्रमाटन’ नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रकाशित छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 










