मोरङ। नोबेल साकोस साहित्यिक संस्था विराटनगर शाखाले आफ्नो मासिक रचना वाचन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

विराटनगरस्थित दाहाल प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल प्रमुख अतिथि रहनुभएको थियो। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवम् वैज्ञानिक महावीर पुन, स्रष्टा बलराम पोखरेल, प्राज्ञ खेम नेपाली, मुक्तक प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेल, झोराहाट नाट्य समूहका अध्यक्ष एवम् कवि भरत गुरागाईं बरबरिक, लेखक तथा अनुसन्धाता केशु विरही, छन्द बाटिकाका अध्यक्ष हरि कट्टेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा भवानीप्रसाद पोखरेल, उमानाथ भट्टराई, गोपाल निर्भीक, शिवपसाद पण्डित सिङ्गल, नानुमैया दाहाल लगायतका कलाकारहरूले आ-आफ्ना रचनाहरू वाचन गर्नुभएको थियो। सहभागीहरूका मौलिक रचनाहरूले कार्यक्रमलाई थप सार्थक बनाएको थियो।

विशेष आकर्षणको रुपमा राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनलाई सम्मान गरिएको थियो। उहाँको देश र जनताको सेवामा समर्पित अतुलनीय योगदानको कदर गर्दै साकोसले उहाँलाई सम्मान गरेको हो। यो सम्मानले साहित्य र विज्ञान दुवै क्षेत्रको महत्त्वलाई उजागर गरेको छ।

नोबेल साकोस साहित्यिक संस्थाकी अध्यक्ष मञ्जु घिमिरे दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सुजता राईले गर्नुभएको थियो ।