काठमाडौँ । नियात्राकार भवानी खतिवडाको चौथो नियात्राकृति ‘प्रणाम सगरमाथा’ को लोकार्पण गरिएको छ ।

काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा आयोजित एक भव्य समारोहमा साहित्यकारहरू, नियात्राकारहरू र समालोचकहरूको उपस्थितिमा उक्त कृतिको लोकार्पण भएको हो ।

नियात्राकार घनश्याम राजकर्णिकार, नियात्राकार इल्या भट्टराई, पेज टर्नरका अध्यक्ष भुवनहरि सिग्देल, कवि तथा नाटककार अशेष मल्ल, समालोचक डा. अशोक थापा र महेश पौड्याल तथा लेखक स्वयंले कृतिको लोकार्पण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नियात्राकार इल्या भट्टराईले ‘प्रणाम सगरमाथा’ ले उच्च हिमाली भेगको अनुभूतिलाई सरस र विशिष्ट ढङ्गले प्रस्तुत गरेको बताउनुभयो । उहाँले भन्नुभयो ”अन्यत्र पाइने सूचना सुष्क हुन्छ, तर यस कृतिले बाँड्ने अनुभूति अद्वितीय छ ।”

समालोचक महेश पौड्यालले वर्तमान समयमा नियात्राबाट निजात्मकता हराउँदै गएको सन्दर्भमा खतिवडाले सरसता र निजात्मकताको सम्यक मिश्रण प्रस्तुत गरेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ”खतिवडाको लेखनमा उच्च हिमाली जनजीवन र हिमाली भव्यताका झिल्काहरू पाइन्छन् । एक आम नेपाली नारीका लागि एक्लै यति दुष्कर भूगोलको यात्रा गर्नु र त्यसलाई कृतिको आकार दिनु आफैँमा एक विशिष्ट उपलब्धि हो ।” समालोचक डा. अशोक थापाले परिचर्चाको मध्यस्थता गर्नुभएको थियो ।

लोकार्पण कार्यक्रममा सर्वनाम थिएटरले कृतिमा समेटिएका केही प्रसङ्गहरूलाई नाटकको रूपमा पनि प्रस्तुत गरेको थियो । सर्वनामका विद्यार्थीहरूले अभिनय गरेको उक्त नाटकमा उच्च हिमाली भेगको मौसमी अनिश्चितता, जीवनको जोखिम र पर्यटकका भारी बोक्ने श्रमिक वर्गको जीवन दर्शाइएको थियो ।

लेखक खतिवडाले लेखन आफ्नो साधना भएको बताउँदै आफू एक श्रद्धालु बनेर हिमाली भेगको यात्रामा जाने र त्यहाँका अनुभूतिहरूलाई नियात्राको रूप दिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ”लेखन मेरो साधना हो । मैले परिवार र छोराछोरीप्रतिको जिम्मेवारीलाई एउटा मुकामसम्म पुर्‍याइसकेकी छु । मेरो बचेको समय भनेको साहित्य साधनाकै लागि हो ।”

‘प्रणाम सगरमाथा’ पेज टर्नर प्रकाशनबाट बजारमा आएको हो । यसअघि खतिवडाका ‘घामभन्दा पहिले’, ‘चारखोलाको आँगनीमा’ र ‘आकाश ओढेको डोल्पो’ प्रकाशित छन् ।

कार्यक्रममा पेज टर्नरले क्यान्सरसँग लडिरहेका कवि गोविन्दराज विनोदीको उपचारार्थ ४ लाख ५५ हजार ३ सय ५६ रुपैयाँ सहयोग रकम कवि विनोदीकी छोरीलाई हस्तान्तरण गरेको थियो । नियात्राकार घनश्याम राजकर्णिकारले उक्त रकम हस्तान्तरण गर्नुभएको थियो ।