विराटनगर । नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्‍याउने स्रष्टाहरूको सम्मान तथा रचना वाचनका साथ तेस्रो राष्ट्रिय लेखक दिवस कोशी प्रदेशभर मनाइएको छ ।
नेपाली लेखक संघको अगुवाइमा देशभर विभिन्न कार्यक्रमहरू आयोजना भएता पनि कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दिवस मनाइएको हो ।

उदयपुरमा स्रष्टाहरूलाई सम्मा

उदयपुरको गाईघाटमा आयोजित समारोहमा भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनुभएका दुई जना स्रष्टा गोवद्र्धन तामाङ र तेजनारायण शेर्पा ‘रञ्जन’ लाई सम्मानित गरिएको छ । साहित्यकार प्रा.डा. गोपाल भण्डारी, लेखक संघ कोशी प्रदेश अध्यक्ष गोकुल अधिकारी, र प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित लगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै उहाँहरूको साहित्यिक यात्राको प्रशंसा गर्नुभएको थियो ।

सम्मान समारोहपछि आयोजित रचना वाचन कार्यक्रममा प्रकाश विमित, हरिशरण खतिवडा, कौशल चेम्जोङ लगायत तीन दर्जनभन्दा बढी स्रष्टाहरूले आ-आफ्ना मौलिक रचनाहरू प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. भण्डारी लगायतका अतिथिहरूले शुभकामना मन्तव्य दिँदै नेपाली साहित्यको उन्नयनमा सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिनुभयो ।

मोरङमा बिपीको साहित्यमा समाजवादको बहस

विराटनगरमा नेपाली लेखक संघ मोरङ र गुराँस पुस्तकालयको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमले ‘बिपीको साहित्यमा समाजवाद’ विषयक बहसलाई केन्द्रमा राखेको थियो । प्राध्यापक कविराज न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार सीमा आभासले विश्वेश्वरप्रसाद कोइरालाको साहित्यमा समाजवादी विचारधाराको प्रभावकारी विश्लेषण प्रस्तुत गर्नुभएको थियो । बहससँगै रोहिणी रसिक, भवानीप्रसाद पोखरेल लगायतका कविहरूले आ-आफ्ना रचनाहरू वाचन गर्नुभएको थियो ।

लेखक संघले जनाएअनुसार, कोशी प्रदेशका इलाम, धनकुटा, झापा, खोटाङ लगायतका जिल्लाहरूमा पनि विभिन्न कार्यक्रमहरू आयोजना गरी तेस्रो राष्ट्रिय लेखक दिवस मनाइएको थियो । साहित्यकारहरूले आ-आफ्नो क्षेत्रबाट नेपाली साहित्यको विकास र प्रवर्धनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।