
काठमाडौं । हरेक महिना सफल व्यक्तिहरूको जीवन कथा सुनाउने कार्यक्रममा यस पटक ज्ञानु राणा र अश्विनी कोइरालाका कथा सुनाइएको छ ।
नवपुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्रले ३५ महिनादेखि आयोजना गरिरहेको ‘मानव पुस्तक’ कार्यक्रममा यस पटक प्रसिद्ध गायिका ज्ञानु राणा र साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाको जीवन संघर्ष र प्रेरणादायी कथा सुनाइएको हो ।
गायिका राणाले आफ्नो कथा सुनाउँदै पिता जनकवि केशरी धर्मराज थापाबाट गायन कलाप्रति आकर्षित भएको स्मरण गर्नुभयो । उहाँले आफूले करीब चौध सय गीतमा स्वर दिएको जानकारी दिनुभयो, जसमा राष्ट्रिय गान पनि समाविष्ट छ । नारायण गोपालसँगको लोकगीत गाएको सम्झना गर्दै उहाँ मिजासिलो व्यक्ति भएको स्मरण गर्नुभयो ।
कार्यक्रममा गायिका राणाले आफ्ना केही चर्चित गीतहरू पनि सुनाउनुभएको थियो ।
कार्यक्रममा साहित्यपोस्टका सम्पादक अश्विनी कोइरालाले आफ्नो पारिवारिक पृष्ठभूमि, पत्रकारिता यात्रा र साहित्यिक पत्रकारिताप्रतिको लगावबारे प्रकाश पार्नुभयो । कोइरालाले साहित्यपोस्टको सञ्चालन किन गर्नुपऱ्यो त्यसको लामो पृष्ठभूमि तथा आगामी योजना बारे स्पष्ट पार्नुभयो ।
कार्यक्रममा हिमालय टाइम्सका सम्पादक पुरुषोत्तम दाहालले स्वतन्त्रताविना साहित्यको अस्तित्व नरहने र साहित्यले नै स्वतन्त्रताको रक्षा गर्ने धारणा राख्नुभयो ।
मुक्तिनाथ दर्शन साहित्य समाजका संस्थापक हरिभक्त सिग्देलको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वसचिव जयमुकुन्द खनाल, पूर्वन्यायाधीश कृष्णप्रसाद वस्याल, न्युरोलोजिष्ट डा. अर्जुनदेव भट्ट, पूर्वप्राचार्य एवं साहित्यकार विष्णुप्रसाद पन्त, र समालोचक युवराज मैनाली लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रममा मुकुन्द पौडेल, रामचन्द्र दाहाल, प्रह्लाद लामिछाने लगायतका कविहरूले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो । सुशीला शर्माले उद्घोषण गर्नुभएको थियो ।
आगामी कार्यक्रम जेठ १० गते मानव पुस्तक शृंखलाको तीन वर्ष पूरा हुने अवसरमा आयोजना गरिनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

