
काठमाडौँ । युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार–२०८२’ साहित्यकार डा. दुर्गाबहादुर सुवेदी क्षेत्री (डा. दुबसु क्षेत्री) लाई प्रदान गर्ने घोषणा गरेको छ। प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो।
प्रतिष्ठानका अध्यक्ष कवि वैरागी काइँलाद्वारा जारी विज्ञप्तिमा नेपाली भाषा साहित्यको उन्नयनमा उल्लेखनीय योगदान पुर्याउने डा. क्षेत्रीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको उल्लेख छ। प्रा.डा. मोहनप्रसाद लोहनीको संयोजकत्वमा गठित त्रिसदस्यीय छनोट समितिको सिफारिसमा यो निर्णय भएको हो। समितिमा प्रा.डा. अभि सुवेदी र कवि मञ्जुल सदस्य हुनुहुन्थ्यो ।
डा. क्षेत्रीले युगकवि सिद्धिचरण श्रेष्ठको साहित्यलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ । उहाँकै नाममा स्थापित दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठानबाट ‘भीमसेन थापा’ खण्डकाव्य प्रकाशित भएको छ। यस खण्डकाव्यलाई उहाँले नै नाटकीकरण गरी बेलायत लगायत विभिन्न देशमा मञ्चन समेत गराउनुभएको थियो । हाल उक्त नाटकलाई चलचित्रमा रूपान्तरण गर्ने तयारीमा उहाँ जुट्नु भएको छ। यति मात्र नभई उहाँले युगकवि सिद्धिचरणका कविताहरू अंग्रेजी र जापानी भाषामा अनुवाद गराई प्रकाशनसमेत गर्नुभएको छ ।
नेपाल, बेलायत, जापान र अमेरिकाका विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्नुभएको डा. क्षेत्री जापानका लागि नेपालका वर्तमान राजदूत समेत हुनुहुन्छ । उहाँ लामो समयदेखि कूटनीतिक सेवामा समेत संलग्न रहनुभएको छ । बेलायत, जापान, माल्टा, आयरल्यान्ड, बहराइन, अमेरिका, म्यान्मा जस्ता देशहरूमा राजदूत, प्रथम सचिव र महावाणिज्य दूतका रूपमा कार्यसम्पादन गरिसक्नुभएको डा. क्षेत्रीलाई प्रशासनिक क्षेत्रमा भन्दा पनि साहित्यिक क्षेत्रमा बढी चिनिन्छ।
कविता, काव्य, गीत, गजल, मुक्तक तथा अनुसन्धानका क्षेत्रमा उहाँका ३८ वटा भन्दा बढी कृति प्रकाशित छन्। यसबाहेक उहाँले तीन दर्जन भन्दा बढी कृति तथा पत्रपत्रिकाहरूको सम्पादन समेत गरीसक्नु भएको छ । एक दर्जनभन्दा बढी अनूदित कृतिहरूको प्रकाशन र दुई दर्जन सङ्घसंस्थाहरूको स्थापना र नेतृत्वमार्फत उहाँले नेपाली भाषा साहित्यको विकासमा उल्लेखनीय योगदान पुर्याउनुभएको छ।
यिनै योगदानहरूको कदर गर्दै डा. दुबसु क्षेत्रीलाई युगकवि सिद्धिचरण पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय भएको हो। पुरस्कार आगामी जेठ ९ गते युगकवि सिद्धिचरणको ११४ औँ जन्मजयन्ती विशेष समारोहमा प्रदान गरिने प्रतिष्ठानका संरक्षक रविचरण श्रेष्ठले जानकारी दिनुभएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

