पोखरा । नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएका साहित्यकारहरूको सम्मानमा मनाइने तेस्रो राष्ट्रिय लेखक दिवस पोखरामा सम्पन्न भएको छ।

नेपाली लेखक सङ्घ, गण्डकी प्रदेश कमिटी र कास्की जिल्ला शाखाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा ख्यातिप्राप्तदेखि युवा साहित्यकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली लेखक सङ्घका निवर्तमान अध्यक्ष तीर्थ श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो भने गण्डकी प्रदेश कमिटी अध्यक्ष डा. ईश्वरमणि अधिकारीले कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो । कास्की कमिटी सचिव प्रान्जलले कार्यक्रमको कुशलतापूर्वक सहजीकरण गर्नुभएको थियो । नेपाली लेखक सङ्घ कास्कीका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष कमल पौडेल अथकले स्वागत मन्तव्य राख्दै कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

गोष्ठीमा पोखरेली युवा सांस्कृतिक परिवारका कार्यवाहक अध्यक्ष साहित्यकार लक्ष्मण थापा, सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानका अध्यक्ष सुरज पौडेल, नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य अमृत, समानान्तर साहित्य मञ्चका अध्यक्ष विश्वराज रसाइली लगायतका कवि तथा साहित्यकारहरू – विश्व अधिकारी, अव्यग्र अस्मित, वसन्त विनोद अधिकारी, निर्मल पौडेल, संजिता लम्साल, ढाकामोहन बराल, रोशन तिमिल्सिना, अमृता पोखरेल, डा. भूमिराज बस्ताकोटी – ले आ-आफ्ना मौलिक रचनाहरू वाचन गर्नुभएको थियो ।

प्रमुख अतिथि श्रेष्ठले नेपाली लेखक सङ्घको अगुवाइमा मनाइँदै आएको राष्ट्रिय लेखक दिवस र राष्ट्रिय लेखक पुरस्कारको ऐतिहासिक महत्वबारे प्रकाश पार्दै विक्रम सम्बत् १९८७ को लेखकीय स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सन्दर्भलाई स्मरण गर्नुभएको थियो। उहाँले वैशाख १६ लाई राष्ट्रिय लेखक दिवसका रूपमा मनाउनुको औचित्य व्याख्या गर्दै देशभर विभिन्न शहरहरूमा यो दिवस मनाइँदै गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका अध्यक्ष डा. अधिकारीले पनि लेखक दिवसको महत्व र औचित्यबारे प्रकाश पार्दै आफ्नो रचना वाचन गर्नुभएको थियो । समग्रमा, तेस्रो राष्ट्रिय लेखक दिवसले नेपाली साहित्यको उत्थान र लेखकहरूको सम्मानमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।