जीवन लामा,
दोलखा । मेलुङ गाउँपालिकामा ‘क्यानभास–२०८२’ नामक चित्रकला प्रदर्शनीले गाउँको धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्पदाको चित्रण गरेको छ ।
मेलुङ गाउँपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजना तथा चरिकोट मिडिया फाउण्डेशनको व्यवस्थापनमा सम्पन्न यस प्रदर्शनीले १५ जना कलाकारका डेढ दर्जनभन्दा बढी चित्रहरू मार्फत मेलुङको पहिचानलाई रङ्ग र रेखामा उतारेको छ ।
प्रदर्शनीमा मेलुङका गुम्बा, मन्दिर, कृषि, जीवनशैली, संस्कृति र पर्यटकीय स्थलहरूलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । यसबाहेक, मेलुङको जीवन झल्काउने १५ वटा कलात्मक तस्बिरहरूले प्रदर्शनीलाई अझ आकर्षक बनाएका छन् । चरिकोट मिडिया फाउण्डेशनका अध्यक्ष जीवन लामाले प्रदर्शनीको जानकारी दिँदै यसले कला, संस्कृति र पर्यटनको प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
कलाकार विक्रम तामाङका अनुसार, बैशाख १७ गते यो प्रदर्शनी चरिकोटमा पनि एकदिने आयोजना गरिनेछ । उहाँले जिल्लामा चित्रकलाको प्रचारप्रसार र महत्व दर्शाउन यो प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले राजधानी केन्द्रित कला अब गाउँगाउँसम्म पुर्याउने अभियानमा आफूहरू लागेको बताउँदै यसअघि पनि विभिन्न स्थानीय तहहरूसँग समन्वय गरी चित्रकला गोष्ठी र प्रदर्शनी आयोजना गरिएको स्मरण गर्नुभयो । उहाँले आगामी दिनमा अझ धेरै ठाउँमा कला पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङले स्थानीय सरकार भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नरही कला–संस्कृतिको जगेर्नामा समेत सक्रिय रहेको बताउनुभयो । उहाँले नवनिर्मित भवनमा मेलुङको मौलिकता झल्किने कला संग्रहालय स्थापना गर्ने योजना पनि सुनाउनुभयो ।
क्यानभास प्रदर्शनी मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङको अध्यक्षतामा तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपाध्यक्ष गायत्री आचार्य, राष्ट्रिय ललितकला संघका अध्यक्ष एनबी गुरुङ, गाउँपालिकाका प्रवक्ता नवराज खड्का र निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिराम चापागाईले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 




