काठमाडौं । नेपालभाषाकी साहित्यकार रीता महर्जनको दोस्रो लघुकथा संग्रह ‘त्वःफ्यूगु स्वापू’ ललितपुरको कुमारीपाटीस्थित नेवा ल्वसामा एक भव्य समारोहका बीच सार्वजनिक भएको छ।

कार्यक्रममा नेपालभाषाका कवि, लेखक तथा भाषा प्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भाषासेवी नरेश महर्जनले संग्रहको विमोचन गर्नुभएको थियो।

समारोहमा बोल्दै स्रष्टा महर्जनले आफ्नो कृतिप्रति पाएको प्रतिक्रियाप्रति आभार व्यक्त गर्दै भाषा र साहित्यको क्षेत्रमा निरन्तर योगदान दिने प्रतिबद्धता दोहोर्‍याउनुभयो। उहाँले आफ्नो साहित्यिक सिर्जनामा जीवनका विविध आयाम, सामाजिक विकृति र सुन्दरतालाई समेट्ने गरेको बताउनुभयो।

कथाकार ध्रुव मधिकर्मीले आफ्नो धारणा राख्दै लघुकथाको आफ्नै मौलिकता र विशेषता रहेको कुरामा जोड दिँदै रीता महर्जनका कतिपय लघुकथाले त्यसलाई सफलतापूर्वक आत्मसात गरेको बताउनुभयो। नेपालभाषा चिबाखं साहित्यका संयोजक नरेश अमात्यले सामाजिक सञ्जालमा स्रष्टाको सक्रियताले नेपालभाषा लघुकथाको क्षेत्रमा थप टेवा पुगेको बताउनुभयो।

लुम्बिनी सम्यक फाउण्डेसनबाट प्रकाशित ‘त्वःफ्यूगु स्वापू’ मा ६३ वटा विविध विषयवस्तु समेटिएका लघुकथाहरू समावेश छन्। यो रीता महर्जनको चौथो कृति हो। यसअघि उहाँका ‘हामा’ उपन्यास, ‘ऋतु’ लघुकथा संग्रह, ‘तनावंगु किपा’ कविता संग्रह र ‘भावनाया किच’ हाइकु संग्रह प्रकाशित भइसकेका छन्।