
जापान । अनेसास जापानले जापानमै पहिलो पटक समुन्द्रमाथि साहित्यिक यात्राको आयोजना गरेको छ।
अप्रिल २७ तारिख योकोसुका नजिकैको सामुन्द्रिक सारूसिमा टापुमा आयोजित ७४ औं नियमित साहित्यिक शृङ्खलामा ६० भन्दा बढी साहित्यप्रेमीहरूको उत्साहपूर्ण सहभागिता थियो।
अनेसास जापानका अध्यक्ष अरुण पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोर्ड अफ ट्रष्टीका उपसभापति तथा पूर्व अध्यक्ष बिष्णु प्रसाद घिमिरे, केन्द्रीय पूर्व अध्यक्ष प्रकाश पौडेल माइला, पूर्व अध्यक्षहरू दीप पाठक, गिरिजा गैरे लगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो। चितवन समाज जापानका पूर्व अध्यक्ष राजन कुमार श्रेष्ठ, गुल्मेली समाज कान्तो संयोजक कृष्ण भण्डारी, व्यवसायी राजु कार्की, राजेन्द्र अर्याल, बलेवा समाज जापानका अध्यक्ष महेन ढकाल पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा दीप पाठक, अरुण पौडेल, प्रकाश पौडेल माइला, विश्ववन्धु भण्डारी, समर प्रेम, लक्ष्मण भन्तना शिरिष, दीपा घिमिरे, सुभास पोखरेल लगायतका स्रष्टाहरूले आ-आफ्ना मौलिक रचनाहरू वाचन गर्नुभयो । समुन्द्रलाई साक्षी राखेर सुनाइएका गजल, मुक्तक र कविताहरूले कार्यक्रमलाई रोमाञ्चक बनाएको सहभागीहरूले बताउनु भएको छ।
सहभागीहरूले आफैंले ल्याएका नेपाली परिकारहरू जस्तै– सेल, अचार, जेरी, बिरियानी, चटपटे आदिको स्वाद चाख्दै नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान गर्नुभयो । समुन्द्रको सौन्दर्य र साहित्यको मधुरताको संगमले भरिपूर्ण यस कार्यक्रमलाई सहभागीहरूले निरन्तरताको माग गर्नुभएको छ । उहाँहरूले यस्ता कार्यक्रमले साहित्य सिर्जनामा प्रेरणा प्रदान गर्नुका साथै नेपाली समुदायमा आत्मीयता र भाइचारा अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।
अनेसास जापानका वरिष्ठ उपाध्यक्ष आनन्द अधिकारी कार्यक्रम संयोजक रहेको यस कार्यक्रममा महासचिव अनिल कुमार निर्दोषले सहजीकरण गर्नुभएको थियो । अन्तमा, अध्यक्ष पौडेलले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

