
सुर्खेत । विश्व पृथ्वी दिवसको अवसरमा सगरमाथा साहित्य प्रतिष्ठान कर्णाली प्रदेश शाखाले सुर्खेतमा गजल मुशायरा कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी प्रमुख अतिथि तथा मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार महेन्द्र मल्ल र प्रतिष्ठानका केन्द्रीय प्रवक्ता राजेशराज गड्तौला विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । प्रदेश अध्यक्ष बबिता बिष्टको सभापतित्वमा सम्पन्न यस मुशायरा कार्यक्रमले वातावरण संरक्षणको सन्देशसँगै दुर्गम क्षेत्रका साहित्यकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको थियो।
प्रतिष्ठानका केन्द्रीय प्रवक्ता गड्तौलाले स्वागत मन्तव्यमा प्रतिष्ठानको स्थापना, हालसम्मका गतिविधि र भावी योजनाहरूको जानकारी गराउँदै साहित्यको माध्यमबाट समाज रुपान्तरणमा प्रतिष्ठानको योगदानलाई उजागर गर्नुभएको थियो। विशेष अतिथि मल्लले नेपाली साहित्यको प्रवर्द्धनमा सगरमाथा साहित्य प्रतिष्ठानको भूमिकाको प्रशंसा गर्दै यस्ता कार्यक्रमले साहित्यिक गतिविधिमा थप टेवा पुर्याउने धारणा राख्नुभयो ।
मुशायरामा दैलेखका दिपिन सिजापती, जाजरकोटकी अम्बिका भट्टराई, जाजरकोटकै जनक चन्द र कञ्चनपुरकी रेजिना सिंह गरी चार जना गजलकारहरूले आ-आफ्ना रचनाहरू प्रस्तुत गर्नुभएको थियो । उहाँहरूका मार्मिक रचनाहरूले श्रोताहरूलाई भावुक बनाएको थियो। जिल्ला समन्वय समिति बिरेन्द्रनगर, सुर्खेतको सभाहलमा आयोजित कार्यक्रमलाई मुनलाईट डिजिटल प्रिन्टिङ प्रेसले सहकार्य गरेको थियो भने हाम्रो पहुँच, विदुर न्युज र यात्रा मिडिया हाउसले सञ्चार सहकार्य गरेका थिए।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका शाखा कमिटी सदस्य तथा सञ्चारकर्मी जगत व्यन्जन र भावुक रिदम बाबुले गर्नुभएको थियो । कार्यक्रम समापन गर्दै अध्यक्ष बिष्टले पर्यावरण संरक्षण र दुर्गम क्षेत्रका सर्जकहरूलाई उजागर गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउँदै यस्ता साहित्यिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले साहित्यको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रतिष्ठान सदैव क्रियाशील रहने बताउनुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

