संखुवासभा । संखुवासभाको तुम्लिङटारस्थित कुमाल समुदायको बस्तीमा प्रगतिशील लेखक संघ (प्रलेस) संखुवासभा र कुमाल समाज नेपालको संयुक्त पहलमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । ‘गाउँगाउँमा प्रलेस, टोलटोलमा साहित्य’ अभियान अन्तर्गत आयोजित कार्यक्रमले बालबालिकाका कलमबाट जीवनवादी कविता लेखिएका थिए ।

कार्यक्रममा ३५ जना बालबालिकालाई कविता लेखन तथा वाचन तालिम दिइएको थियो । बालकलाकारहरूले आफ्ना भावनालाई शब्दमा उनेर श्रोताहरूलाई भावुक बनाउनुभएको थियो । सोनु कुमाल, सलिना श्रेष्ठ, कृस्टिना दुत्पाउ लगायतका बालकलाकारहरूका रचनाले कार्यक्रमलाई जीवन्त बनाउनुभएको थियो । प्रतिस्पर्धामा सोनिया कुमाल प्रथम, सलिना श्रेष्ठ द्वितीय र दीक्षा कुमाल तृतीय हुनुभएको छ । उहाँहरूलाई पुरस्कारद्वारा सम्मानित गरिएको थियो ।

कुमाल समाजको हलमा आयोजित कार्यक्रममा स्थानीय कलाकारहरूको पनि उपस्थिति थियो । कवि कृष्णबहादुर चापागाई, वीरेश राई, राम गुरुङ, गुरुप्रसाद सुवेदी, मैया बजगाईं र सुशीला कुमाल मगरले आफ्ना मार्मिक रचनाहरू प्रस्तुत गरेर वातावरणलाई साहित्यिक बनाउनुभएको थियो । स्थानीय विद्यालयका शिक्षक, विद्यार्थी तथा कुमाल समाजका पदाधिकारीहरूको उपस्थितिले कार्यक्रमको महत्वलाई झल्काएको थियो ।

प्रलेस जिल्ला अध्यक्ष ताराबहादुर बुढाथोकीले कार्यक्रमको अध्यक्षता गर्दै पछाडि पारिएको कुमाल समुदायलाई साहित्यिक चेतनाले जोड्ने उद्देश्यले यो बस्ती छनोट गरिएको बताउनुभयो । उहाँले आफ्नो मार्मिक कविता सुनाउँदै विकासको नाममा पछाडि पारिएका कुमाल समुदायको पीडालाई उजागर गर्नुभयो । उहाँको कविताको अंश :

जहाजले उड्छु भन्यो
तिमीले बस्ती छोडिदियौ
मोटरले गुड्छु भन्यो
तिमीले छाप्रो तोडिदियौ
परियोजनाले बस्छु भन्यो
तिमीले दोसल्ला ओढिदियौ
विकास अघि सर्दै गयो
तिमी पछि पर्दै गयौ ।”

किसानहरूले पनि कार्यक्रममा सहभागिता जनाउनुभएको थियो । यस कार्यक्रमले कुमाल समुदायमा मात्र नभई समग्र साहित्य क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।