लोकप्रिय साहित्यिक पत्रिका ‘ऐरावती‘मा छापिएको एउटा कथाका कारण बर्मेली–नेपाली समाज दुई भागमा विभाजन भएको छ । आधुनिक युवाहरू पत्रिकामा लेखिएका कुरामा आपत्ती जनाउन नहुने पक्षमा छन् भने पुराना पुस्ता र धार्मिक व्यक्तित्वहरू पत्रिकाले नेपाली चेली सीताको चरित्रमाथि धावा बोलेको भन्दै त्यस्ता व्यक्तिहरूलाई हदैसम्मको कारवाही गर्नुपर्ने बताइरहेका छन् । यसको असर सामाजिक सञ्जालमा पनि देखिएको छ । फेसबुकमा यसका पक्ष र विपक्षमा स्टाटसहरू लेखिन थालेका छन् ।
पत्रिकामा छापिएको कथालाई लिएर विवाद आएपछि सम्पादक ज्ञानबहादुर थापा बगालेले पदबाट राजीनामा दिएका थिए । पदबाट राजीनामा दिएपछि पनि विवाद साम्य नभएपछि उनले कथा छाप्नु गलत भएको भन्दै हिन्दु धर्ममा आस्था राख्ने म्यान्माका नेपालीहरू समक्ष माफी मागेका थिए । तर माफीपछि पनि विवाद साम्य भएको छैन । विवाद बढ्दै गएपछि अखिल मान्मादेशीय गोर्खा हिन्दु धार्मिक संघले औपचारिक रूपमै पत्रिका वितरण गर्न रोक लगाएको छ । यसअघि सम्पादकले पनि पत्रिकामा छापिएको कथामा आएको विवादका कारण पत्रिकाको खर्च आफैँ बेहोर्ने र पत्रिका वितरण नगर्ने वचन दिएका थिए ।
यता केही युवाहरू पत्रिकामा छापिएको एउटा कथाकै आधारमा पत्रिका पढ्नबाट वञ्चित गर्नु अपराधको पराकाष्ठा भएको भन्दै पत्रिका पढ्न पाउनुपर्ने माग राखेका छन् । त्यस्ता माग सामाजिक सञ्चालहरूमा पनि देखिन्छन् । बर्मामा स्थानीय नेपालीहरूको रहोबरमा वर्षमा ३ महिना बालबालिकाहरूलाई नेपाली भाषा पढाइन थाले यता नेपाली भाषा र साहित्यप्रति जागरुकता बढेको छ । बर्मामा रहेका २ लाख नेपालीमध्ये झण्डै आधाले नेपाली भाषा पढ्न सक्छन् । त्यसमध्ये धेरैले धार्मिक कुरा मन पराउँछन् भने थोरैले साहित्यिक । युवा पुस्तामा भने साहित्यप्रति झुकाव राख्नेहरू बढी देखिन्छन् । साहित्यिक पत्रिका ऐरावती ३ हजारदेखि पाँच हजारसम्म छापिने गरेको छ ।
‘संस्थागतरूपमा र हरेक नेपालीको पैसा परेको कारण यसमा सार्वजनिक चासो भएको हो । पत्रिका अनिवार्य किन्नुपर्ने बाध्यताका कारण पनि समाजमा यसले तरंग ल्याएको हो ।‘, स्थानीय भीम पाण्डेले साहित्यपोस्टसँग भने, ‘कथाको अन्तिम हरफमा सीता माताको चरित्रमाथि कथाले प्रश्न उठाएका कारण यो तरंग आएको हो ।‘
कतिपय भने यो प्रकरणलाई ऐरावती पत्रिका बन्द गराउने षडयन्त्रका रूपमा बुझेका छन् । बर्मामा रहेका शिक्षित गोर्खाहरू कथाको पक्ष र विपक्षमा बाँडिदा पत्रिका नै बन्द हुने त होइन भन्ने चिन्तामा पुगेका छन् ।
‘हामी लेखपढ गर्न रुचाउनेलाई यो पत्रिका एउटा भरोसाको केन्द्र थियो ।‘ युवा साहित्यकार सरगम धिताल भन्छिन्, ‘यहाँ राम्रा नेपाली पुस्तक पढ्न पाईँदैन । ऐरावती नै हाम्रो भरोसा थियो । यो प्रकरणले पत्रिका नै बन्द हुने त होइन भन्ने चिन्ता बढेको छ ।‘
कतिपयले यसलाई बर्मामा नेपाली भाषा मास्ने षड्यन्त्र भएको त होइन भन्ने चिन्ता पनि गरेका छन् ।
सामाजिक सञ्जालहरूमा पनि ऐरावती बहिष्कारका नारा लाग्न थालेका छन् । कतिपयले छद्म नाममा र कतिपयले हाकाहाकी ऐरावती पत्रिकाको बहिष्कार गरेको कुरा लेखिएका छन् ।
नेपालीहरूको बाक्लो बसोबास रहेको मेचिनाका युवा बोधनाथ ढकालले यो एउटै प्रकरणले ऐरावती बन्द नहुने दावी गरे ।
‘गोर्खालीहरूको आधिकारिक संस्थाबाटै निस्किएको पत्रिकाले धार्मिक आस्थामा ठेस पुर्याउन गरेको कारणले मात्र यसको विरोध भएको हो ।, ढकालले साहित्यपोस्टसँग भने, ‘हाम्रो भनाइ हिन्दु मात्र होइन, कुनै पनि धर्ममा आँच आउने कुरा संघको पत्रिकामा लेख्नुहुन्न । यसले हामी गोर्खाको एकतालाई असर गर्छ । यसो भन्दा हामीले साहित्यको विरोध गरेको नमानिदिनु होला ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।