मनोभिराम – प्रमोद भट्टराई प्रतीक

प्रमोद भट्टराई प्रतिकको लघुकथा संग्रह हो ‘मनोभिराम’ । पुस्तकमा प्रमोदले वर्तमान नेपाली समाज आदिमतापरक शुद्धता, मावविय मनोद्वेग, प्रेमिल सत्यता र धुमिल प्रेमको मिश्रण लेख्नुभएको छ।

”प्रमोद भट्टराई ‘प्रतीक’ सँग मेरो साहित्य लेखनकै क्रममा फेसबुकबाट चिनापर्ची भएको हो ।” रेहित सैजु लेख्नुहुन्छ, ”साहित्य लेखनमा म उहाँलाई अत्यन्त नजिकबाट चिन्दछु । उहाँ विशेषगरी मुक्तक लेखनमा बढी रुचि राख्नुहुन्छ भनेर बुझेको छु । कहिलेकसो कविता, गजल, गीतमा समेत कलम चलाउनु हुन्छ । साहित्य क्षेत्रमा ‘मनोभिराम’ उहाँको पहिलो कृति हो। यस भित्र ३०५ वटा मुक्तकहरू समाविष्ट छन् । यी मुक्तकहरूलाई विषयवस्तुको आधारमा तेह खण्डमा बाँडिएको छ । मुक्तकको सैद्धान्तिक पक्षलाई अक्ष बनाएर सिर्जित गरिएका यी मुक्तकहरू नियमसङ्गत छन् । विषयवस्तु छनोट, शब्द चयन तथा संयोजनमा भट्टराई निकै निपुण देखिनु भएको छ । हाम्रै समाजका वास्तविक घटना, परिघटनाभित्र रहेर आफ्नो कलमलाई उजागर गर्नु भएको छ । देशप्रेम, मातापिताप्रति सद्भाव, विसङ्गत वर्तमान, नेताहरूको बिग्रँदो तालमेल तथा अनावश्यक होडबाजी, मान्छेहरूको कुटिल चाल, साथीभाइबीचको यावत् सम्बन्ध, समयसँगै सिर्जित भएका विविध प्रविधि र तिनले निम्त्याएका चरम विरक्तिहरू, रोग, भोक अनि युद्धका मार साथै ब्वाँसा प्रवृत्ति चालबाट हैरानी खेपेका, कतै आस्था, कतै बेवास्ता, कतै मिलनका सुमधुर लालित्य, कतै विछोडका भाव विलौना, कतै आशा कतै निराशा, कुण्ठा, रिसराग लगायत यस्तै यस्तै विविध विषयमा रचित छन् यसभित्रका मुक्तकहरू ।”

त्यसैगरी लेखक प्रमोद भट्टराई आफ्नो कुरामा लेख्नुहुन्छ, ”साहित्यका धेरै विधाहरू भएर पनि मैले मुक्तकलाई पहिलो प्राथमिकतामा यसकारण पनि राखें कि यसको संरचना र लेखन शैलीप्रति अति नै प्रभावित भएँ। लामो व्याख्यात्मक रचना सिर्जना गरेर पाठकको धेरै समय खोसिदिनु नपर्ने, साहै छोटो रचना जसको आशय बुझेर पाठक स्वयम्‌ले निष्कर्ष पहिल्याउनु नपर्ने, अक्षरको सीमाभित्र रहेर मनमा उब्जिएको भावलाई नखुम्च्याईकन पूर्ण भावमा लेख्न सकिने विशेषता मुक्तकमा पाएँ । एउटा सर्जकको मनमा उब्जिएको भावलाई शिर्फ चारवटा हरफमा अटाउने गरी, विषयवस्तुको उठान गरेर त्यसैसँग मिल्दोजुल्दो प्रसङ्गले अझै स्पष्ट पार्दै, साङ्केतिक रूपमा सम्भावित परिणामलाई सुन्दर तरिकाले लयवद्ध रूपमा अभिव्यक्त गर्न सकिने भएर होला मुक्तक विधाप्रति आकर्षण बढ्न थाल्यो। मलाई मात्रै होइन अन्य सर्जकहरूमासमेत यसको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको देखिन्छ र नयाँ उत्साहित सर्जकहरूको संख्या पनि दिनानुदिन बढ्दो क्रममा छ ।”

पुस्तकलाई नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेशले बजारमा ल्याएको हो । तीन सय पाँच ओटा मुक्तक समेटिएको पुस्तकको मुल्य दुई सय रुपियाँ रहेको छ ।