काठमाडौं । संगीत क्षेत्रकी प्रतिभा संगीता प्रधानले शुक्रबार र शनिबार पलेँटीमा आफ्नो अविस्मरणीय एकल गायन प्रस्तुत गर्नुभयो ।
सन् २००७ मा पहिलो पटक पलेँटीमा गीत सुनाएकी संगीताले झण्डै दुई घण्टा लामो कार्यक्रममा दर्जनौं सृजनाहरू प्रस्तुत गर्दै दर्शकहरूलाई मोहित बनाउनुभयो ।

कार्यक्रमको सुरुवात ख्याल गायनबाट भएको थियो। राग रागेश्रीको विलम्बित लयमा संगीता आफैँले सृजना गरेको बन्दिश ‘सब सुख दियौँ’ ले कार्यक्रमको शोभा बढायो। एकतालबाट सुरु भएको रागले मध्यलय प्रवेश गर्दा श्रोताहरू रोमाञ्चित बन्नुभएको थियो । त्यसपछि तीनतालमा रहेको मध्यलयको बन्दिश ‘उनि उनी रहिछौँ किन हो संगिनी’ (कविवर माधव घिमिरेको शब्द) ले कार्यक्रमलाई अझै जीवन्त बनायो।

कार्यक्रमको दोस्रो चरणमा ठुमरी र दादरा प्रस्तुत भए। राग माझ–खमाजमा आधारित ठुमरीको मुख्य आकर्षण नेपाली भाषामा प्रस्तुति थियो। लामो समयदेखि शास्त्रीय गायनमा क्रियाशील संगीतालाई आफ्नै भाषामा ठुमरी गाउन पाउँदा निकै खुशी लागेको थियो। पलेँटी संयोजक आभासको सहयोगमा ‘झर्झर बर्खा ऋतु आयो’ (माझ खमाज) र राग पहाडीमा आधारित दादरा ‘मौन बसी बित्यो रात’ जस्ता रचनाहरू प्रस्तुत भयो । पुष्प चन्द्रिकामा प्रयोग भएको साहित्य ‘कठिन समयमा, एक मेरो घनश्याम’ गोपाल योञ्जनले हिन्दीबाट भावानुवाद गर्नुभएको थियो ।

तेस्रो चरणमा संगीताले आफ्ना नयाँ र पुराना नेपाली आधुनिक गीतहरू सुनाउनुभयो । गीतकार कालीप्रसाद रिजालका दुई गीत ‘कुन पापीले कुन निष्ठुरीले’ (गुरुदेव कामतको संगीत) र ‘जाऊ फेरि मन यो मेरो दुखाएर जाऊ’ (आभासको संगीत) ले दर्शकहरूलाई भावुक बनायो। शान्ति ठटालको नयाँ धुनमा रहेको ‘जीवन चुपचाप गुजारेँ त के भो? तिमीले जित्यौँ म हारेँ त के भो?’ , रत्नशम्शेर थापाको ‘तिर्सना छल्किन्छ’ र मन्जित तामाङको ‘मैले प्रीत लाएँ लाएँ, लाजै नमानी लाएँ’ जस्ता गीतहरूले कार्यक्रमलाई थप रोचक बनाको थियो ।

संगीताले आफ्ना काठमाडौं बसाइँका संस्मरण सुनाउँदै, संगीतकार नातिकाजी र मानवीर सिंहसँगका सम्झनाहरू बाँड्दै ‘आँगनमा आज मेरा प्रियतम आए’ (रेडियो नेपालमा गाएको उहाँको पहिलो गीत) गाउँदा श्रोता भावुक बन्नुभएको थियो । नेपथ्यका अमृत गुरुङको संगीतमा रहेको कवि मञ्जुलको ‘एकान्तमा फूल फुल्छ कि म फुल्छु’ ले कार्यक्रममा विशेष स्थान पायो। आरति नेवाको शब्दमा रहेको ‘किन हो हजुरलाई आफ्नै भनिदिन मनलाग्छ’ गाउँदै उहाँले संगीतकार मानवीर सिंहलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा पनि दर्शकहरू आसनमै स्थिर देखिन्थे। पलेँटीले शास्त्रीय र आधुनिक संगीतको सफल सम्मिश्रण प्रस्तुत गरेको प्रतिक्रिया दर्शकहरूबाट प्राप्त भयो। विदेशी श्रोताहरूले पनि संगीताको गायनको प्रशंसा गर्नुभयो । प