काठमाडौँ । साहित्यकार विजय चालिसेसँग ‘कथा यात्रा’ समूहले भेट गरी स्वास्थ्य लाभको कामना गरेको छ।

भेटमा कथा यात्रा समूहले चालिसेको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै “सुखमा पनि र दुःखमा पनिः कथा यात्रा” सन्देश प्रवाह गरेको हो।

गोरखापत्रका पूर्वसम्पादक समेत रहनुभएका चालिसेका ‘ओह नेपारू’, ‘अनि कुइरो फाट्छ’ लगायतका उपन्यास, कथासङ्ग्रह, निबन्ध, बाल साहित्य, नियात्रा, जीवनी तथा पत्रकारिता विषयक झण्डै ५० वटा एकल र संयुक्त कृति प्रकाशित छन्। लेखन र पत्रकारिता दुवै क्षेत्रमा सक्रिय चालिसे राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित हुनुभएको छ। सुरभि साहित्य प्रतिष्ठान, भैरव पुस्तकालय लगायतका साहित्यिक संस्थासँग आवद्ध चालिसे पछिल्लो समय स्वास्थ्य समस्याबाट गुज्रिरहनुभएको छ।

‘कथा यात्रा’ समूहले साहित्यकारलाई सुख र दुःख दुवै अवस्थामा सम्झने अभियान चलाइरहेको छ। दीपक लोहनी, हरिश कल्पित, पवित्रा अधिकारी, प्रमोद प्याकुरेल, डा. हिमलाल श्रेष्ठ, कुमार काफ्ले र विश्व कुइकेल रहेको यस समूहको मुख्य उद्देश्य नेपाली कथा साहित्यलाई चलायमान बनाउन पाण्डुलिपि चरणदेखि नै बहस चलाउनु रहेको छ। उहाँहरूले चालिसेजस्तो अनुभवी साहित्यकारको स्वास्थ्यप्रति चासो राख्दै उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । चालिसेको बहुआयामिक योगदानले नेपाली साहित्यलाई उल्लेखनीय योगदान पुर्‍याएको समूहले बताएको छ।