
काठमाडौँ । घुम्ती कविगोष्ठी नेपालको १४९ औँ शृङ्खला गोकर्णेश्वर नगरपालिका धनसिंहकोटमा सम्पन्न भएको छ ।
गोविन्द घिमिरे वेदमणिको निवासमा आयोजित यस कार्यक्रममा ६५ जनाभन्दा बढी कवि तथा साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो ।
अभिनव साहित्य समाजका अध्यक्ष एवम् घुम्ती कविगोष्ठी नेपालका सल्लाहकार वेदमणिको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपककुमार रिसाल प्रमुख अतिथि रहनुभएको थियो । उपन्यासकार शङ्कर भारती, काव्यकार बाजुराम पौडेल, साहित्यकार छायादत्त न्यौपाने, राजन न्यौपाने, घुम्ती कविगोष्ठीका अध्यक्ष माधवलाल श्रेष्ठ, सरस्वती स्कुलका प्रिन्सिपल राजु श्रेष्ठ, गीतकार नारायणकुमार आचार्यलगायत विशिष्ट अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई थप रौनक प्रदान गरेको थियो ।
कार्यक्रमको मुख्य आकर्षण वेदमणीद्वारा लिखित बोधकथा–सङ्ग्रह ‘बिग्रेको मान्छे’ को लोकार्पण थियो । नगरप्रमुख रिसालले आफ्नो मन्तव्यमा घुम्ती कविगोष्ठी नेपालजस्तो साहित्यिक कार्यक्रमले गोकर्णेश्वर नगरपालिकाको गौरव बढाएकोमा खुशी व्यक्त गर्दै यस किसिमको कार्यक्रमको निरन्तरताको प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा परशुराम पराशर, शारदा पराजुली, सुमित्रा श्रेष्ठलगायत कयौँ कविहरूले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो । रामकुमार पण्डितले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने माधवलाल श्रेष्ठले स्वागत मन्तव्य राख्दै कविता वाचन गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

